मुगु सामूहिक हत्या : श्रीमती र छोराछोरीका हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने बोहोराको अडान

Posted on: 30 Oct, 2023

कात्तिक १३, मुगु | छायानाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यामा संलग्न पक्राउ परी कारबाही नभएसम्म आफूले शव नबुझ्ने बताएका छन्। आइतबार दिउँसो मुगु सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल पुगेर फर्किएका उनले चारवटै शवको पोस्टमार्टम सकिए पनि आफ्नो परिवारका सदस्यको हत्याराबारे सत्यतथ्य पत्ता नलागेर दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने जानकारी दिए।


शुक्रबार मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो। उनीहरू धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले शव परीक्षणको काम सुरु गरिएको जानकारी दिए। सामूहिक हत्या घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ। यष विषयमा प्रमाण जुटाएर मात्रै सार्वजनिक गरिनेसमेत उनले बताए। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल घटनाको अनुसन्धानमा भएको प्रगति बुझ्न आइतबार घटनास्थल पुगेका छन्। 

श्रीदेवी तीन छोराछोरीसहित ७ कात्तिकमा दसैँको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ। अनुसन्धानका लागि सुर्खेतबाट थप दुई सुरक्षा टोली तालिम प्राप्त कुकुरसहित मुगु पुगेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!