बागलुङमा बेरुजु,सबैभन्दा बढी ढोरपाटनमा

Posted on: 22 Aug, 2021

भदौ ६, बलेवा (रासस) । बागलुङको दुई स्थानीय तहको बेरुजु फछर्यौटमा केही सुधार आएको छ । महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका बागलुङका बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा भने बेरुजु प्रतिशतमा करेक्सन (सुधार) गरेका हुन् । 

आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदनमा बरेङमा ५.२२ प्रतिशत र ताराखोलामा ५.२० प्रतिशत बेरुजु देखिएकोमा आव २०७६/०७७ मा त्यसलाई सुधार गर्दै बरेङमा ०.४२ प्रतिशत मात्रै बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यो जिल्लाका १० वटै स्थानीय तहमा देखिएको बेरुजुमध्ये सबैभन्दा कम हो । बरेङमा रु ६६ करोड ३७ लाख ३९ हजार लेखा परीक्षण हुँदा रु २७ लाख ७६ हजार बेरुजु देखिएको छ ।

ताराखोला गाउँपालिकाले अघिल्लो प्रतिवेदनमा भन्दा धेरै सुधार गरेको छ । ताराखोलामा १.६१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका १० स्थानीय तहमध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ढोरपाटन नगरपालिकामा ६.७६ प्रतिशत रकम बेरुजु देखिएको हो । 

आव २०७६/०७७ मा ढोरपाटन नगरपालिकामा छ करोड २५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु धेरै हुनेमा बागलुङ नगरपालिका दोस्रो बनेको छ । बागलुङ नगरमा १.६४ प्रतिशत बेरुजु देखिएको छ । बागलुङमा रु दुई अर्ब पाँच करोड ६५ लाख ३४ को लेखा परीक्षण रकम रहेकामा रु तीन करोड ३६ लाख ३७ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । काठखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा समान १.६१ प्रतिशत बेरुजु देखिएको छ । जैमिनीमा नगरपालिकामा १.१४ प्रतिशत बेरुजु छ ।

तमानखोला गाउँपालिकामा १.५१ प्रतिशत बेरुजु देखिएको छ । ४९ करोड ९३ लाख ७१ हजार लेखा परीक्षण रकम रहेकामा ७५ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ । निसीखोला गाउँपालिकामा ०.९४ प्रतिशत बेरुजु देखिएको छ । ७५ करोड ७४ लाख नौ हजार लेखा परीक्षण रकम रहेकामा ७१ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ । गलकोट नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु देखिएको छ ।

रु एक अर्ब ३३ करोड ७६ लाख ४८ हजारको लेखा परीक्षण हुँदा रु एक करोड १६ लाख ६० हजार बेरुजु देखिएको छ । बडिगाड गाउँपालिकामा ०.७२ प्रतिशत बेरुजु देखिएको छ । त्यहाँ एक अर्ब २४ करोड ४९ लाख छ हजार लेखा परीक्षण रकम रहेकामा ८९ लाख ९२ हजार रकम बेरुजु देखिएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!