कर्णाली सरकारबाट बाहिरियो एमाले

Posted on: 09 Apr, 2023

चैत २६, सुर्खेत | कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो । गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । तर मुख्यमन्त्री शर्माले एमालेका ३ मन्त्रीलाई चाहेर पनि बर्खास्त गर्न सकिरहेका थिएनन् । एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!