कात्तिक २३, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक अनुगमन गरेका छन् । यातायात व्यवस्था कार्यालयको अवस्थाका त्यहाँको सेवाग्राहीले पाउने सेवासुविधाको जानकारी लिन उनी आकस्मिक अनुगमनमा गएका हुन् ।
मुख्यमन्त्री शाहीले सेवा लिने क्रममा सेवाग्राहीमाथि हुने व्यवहार र यहाँका समस्या बारे छलफल गरेका छन् । उनीसँग सेवाग्राहीहरूले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फारम भर्दा १५ रूपैयाँ लाग्ने फारमलाई सय रुपैयाँ लिने गरेको, पैसा तिर्न पनि घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए ।
सेवाग्राहीका गुनासा सुनेपछि मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशक्ती प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले कार्यालय आफैँले गर्न सक्ने न्युनतम कामहरू पनि नभएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिए ।
मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवी रिजालसँग पनि छलफल गरेका थिए ।
मुख्यमन्त्री शाहीले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसलहरू तत्काल बन्द गर्न, सवारीसाधन र पार्किङको व्यवस्था मिलाउन पनि निर्देशन दिए । शाहीको निर्देशन लगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसलहरू तत्काल हटाउने र ट्रफिक व्वयस्थापन मिलाउने प्रक्रिया सुरू गरिएको जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!