कारभित्र बोरामा लुकाईछिपाई राखेको अवस्थामा १ करोड १ लाख फेला, चालक पक्राउ

Posted on: 02 Jun, 2024

जेठ २०, काठमाडौं । सुनसरीमा शनिबार राति सशस्त्र प्रहरिले हुन्डीको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। 

सुनसरीको  हरिनगर गाँउपालिका-५, दुर्गामन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारबाट शंकास्पद नगद बरामद गरेको हो। 


शंका लागेर चेकजाँच गर्दा कारभित्र बोरामा लुकाईछिपाई राखेको अवस्थामा हजार दरका नोट ९ हजार ७ सयवटा, (९७ लाख) र ५ सय दरका ८ सयवटा (४ लाख) बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। 

रकमसँगै कार र चालक सुनसरी हरिनगर गाँउपालिका-५ मै बस्ने ३७ वर्षीय इसा अन्सारीलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेकाले नगदसहित कार र उनलाई अनुसन्धान तथा कारबाहीका लागि  राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!