ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | सेवाग्रहीबाट सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  

प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थियो । रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिएर गएका डिएसपी केसीले फिर्ता गरेका थिएनन् प्रहरी प्रधान कार्यालयको प्रतिवेदन र उजुरीका आधारमा आयोगले डिएसपीमाथि थप छानबिन गरेको थियो । केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका –५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन समातेर फिर्ता दिएका थिएनन् ।


१५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैले सुन राखी फिर्ता नदिएर उनले सेवाग्रहीसँग १८ लाख मागेका थिए । सुन धनीले आठ लाख ५० हजार रुपैयाँ नगद र नौ लाख ५० हजार बराबरको चेक डिएसपी केसीलाई दिएका थिए ।

पैसा र चेक लिएपछि केसीले अन्य व्यक्तिमार्फत सुन जिम्मा लगाएको आयोगको छानबिनबाट देखिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार डिएसपी केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!