लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत, राप्रपा तटस्थ

Posted on: 02 May, 2023

बैशाख १९, लुम्बिनी | लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत पाएका छन् । प्रदेशसभामा भएका १० दलमध्ये ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ जना सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत लिएका हुन् । विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने योजना बनाएको मुख्यमन्त्री चौधरीले बताएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । सभामुख तुलाराम घर्तीले विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत रहेको घोषणा गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि बल्ल सरकारले पूर्णता पाउने छ ।

विश्वासको मत पाएलगत्तै मन्त्रीहरूको जिम्मेवारीसमेत तोकिनेछ । नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन् ।

मंगलबार विश्वासको मतको विपक्षमा रहेकाे एमालेका २९ सांसद छन् । नयाँ गठबन्धनमा नरहेको राप्रपाका ४ सांसद रहे पनि उनीहरुले कतै मत दिएनन् । मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणासँगै सभामुख घर्तीले प्रदेश सभाको दशौं बैठक सकिएको र ११ औं बैठक सूचनामार्फत जानकारी गराउने जनाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!