वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

Posted on: 17 Feb, 2024

फागुन ५, मन्थली | रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताए ।

रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७  सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए  । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।

पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उहाँको मृत्यु भएको हो । सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!