दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय

Posted on: 06 Apr, 2023

चैत २३, पर्वत | सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टा भन्दाबढी पैदल हिँड्न बाध्य भएका छन् । 

पर्वतको महाशिला गाउँपालिका-४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययन गर्नका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाधयता छ । पाखापानीमा माध्यमिक विद्यालय तीन वटा भए पनि दश जोड २ सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययन गर्नका लागि टाढा जानुपरेको हो । 

लामतुनमा रहेको जनविकास मावि पुग्न पाखापानीका सिम्ले, भण्डारी थर, कोखे, चौडिल्ला लगायतका बस्तीबाट बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । एसइईसम्मको अध्ययन स्थानीय स्वधर्म मावि र विश्वज्योति माविमा पढेपनि प्लस टु अध्ययनका लागि लामो बाटो हिँड्नु परेको कक्षा १२ मा अध्ययनरत भण्डारी थरका राहुल भण्डारीको भनाइ छ । 

विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा टाढा विद्यालय हुँदा सास्ती खेप्नु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नजिकमा विद्यालय भएको भए बिहानभरी पढेर, थोरै समयमै विद्यालय पुग्न सकिन्थ्यो, तर टाढा हुँदा न त बिहान पढ्ने समयनै हुन्छ नत घरको काम गर्ने ।” 

विद्यालय भएको बस्ती लामतुनमा भन्दा पैदल हिँडेर जाने विद्यार्थीको सङ्ख्या उल्लेख्य रहेको वडाध्यक्ष पुरन मल्लल बताउनुभयो । “विद्यालय भएको बस्तीभन्दा टाढाका बस्ती सुगम भएकाले पनि त्यहाँ जनघनत्व बढी छ तर त्यहाँका विद्यालयमा कक्षा ११, १२ पढ्ने सुविधा छैन, त्यसैले यहाँका विद्यार्थीले निकै सास्ती पाएका छन्”, मल्लले भन्नुभयो । 

“भीरको बाटो हुँदै विद्यालय जानुपर्ने भएकाले हावाहुरी चल्दा बालबालिकालाई उडाउने डर हुन्छ । त्यस्तै बर्षात्मा पहिरोको डरले अभिभावकलाई पिरोल्ने गर्छ”, विद्यार्थी सिर्जना क्षेत्रीले भनिन्, “कहिलेकाहीँ साथी नपाउदा एक्लै जान डर लाग्छ ।” बस्ती नजिकै रहेका स्वधर्म मावि र विश्वज्योति माविमा उच्च मावि नखुल्दा आफूजस्ता ५० जनाभन्दा बढी विद्यार्थीले सास्ती पाउने गरेको उहाँले गुनासो गर्नुभयो । दैनिक तीन घण्टा भन्दा बढी पैदल हिँडेर जानुपर्ने बाध्यतामा यो गाउँका ५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ । 

विद्यालयका प्राध्यानाध्यापक चक्रबहादुर क्षेत्रीले टाढाबाट आउने विद्यार्थीका लागि थोरै समय कुर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी आइसकेपछि मात्र पठनपाठन सुरु गर्ने गरेका छौँ, नजिकका विद्यार्थी चाँडो आए पनि टाढाबाट आउनेलाई केही समय पर्खने गरेका छौँ”, क्षेत्रीले बताउनुभयो । वडामा यो मात्रै प्लस टु पढाउने विद्यालय भएकाले विद्यार्थीको सङ्ख्या पनि धेरै रहेको उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!