प्रचण्ड अराजक भइसके, अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छः शेखर कोइराला

Posted on: 10 Sep, 2023

भदौ २४, हेटौंडा | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छ्न् ।

११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा-११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न हेटौंडा आएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्व रहेको सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गरिनुपर्ने बताए ।

उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो ।’ कोइरालाले भने ।

कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्‍याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ उनले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!