सात महिनादेखि पानी पनि नपिएको दाबी : सम्भव छ यस्तो अलौकिक क्षमता ?

Posted on: 20 Sep, 2023

असोज ३, ललितपुर | ललितपुरका राजेन्द्र रेग्मीले आफू सात महिनादेखि पानी समेत नपिई बाँचेको दाबी गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर महालक्ष्मी नगरपालिका लुभु–८ का रेग्मीले आफू भगवान् शिवको अनन्य भक्त भएको र आफूले गत फागुन महिनादेखि पानीसमेत नपिई बाँचेको जिकिर गरे । 

‘म निराहार बाँचिरहेको छु । विश्व मानवभन्दा फरक शरीर मैले पाएको छु । यो शरीरलाई नेपालले मात्रै होइन, विश्वको मेडिकल साइन्सले हेर्नुपर्छ । मैले ०७६ सालदेखि नै मलाई शरीरमा कम्पन आउने भएको थियो । यो बीचमा मैले हरेक देवीदेवताको दर्शन गरेको छु । ०७९ फागुन ३ गते राति १२ः१० बजे म सुतेको थिएँ । झसंग उठ्दा म उडेको जस्तो भयो । १२० केजीको मान्छे म सपना देखेर उठ्दा त ४० केजी वजन घटेछ । ४८ इन्चको कम्मर ३४ इन्चको भयो । जल लियो भने खुट्टामा पुग्ने अवस्था भयो । म गत फागुनदेखि निराहार छु,’ उनको दाबी छ । 


उनले आफूले ०७६ सालदेखि भोजन बन्द गरेको स्पष्ट दाबी गर्दै आफू घण्टौँसम्म पनि चिसो वा तातो दुवै पानीले समाधि गर्न पनि सक्षम रहेको बताए । 

आफ्नो अलौकिक क्षमताको परीक्षणको लागि आफूले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई पत्राचार गरेको भन्र्दै उनले सार्वजनिक रूपमै आफू परीक्षणका लागि तयार रहेको बताए । उनले भने, ‘मेरो क्षमताको उजागर गरियोस् । त्रिविका पदाधिकारीलाई भन्दा चासो देखाइएन । नेपालका सम्पूर्ण मिडियालाई अनुरोध छ । म सात महिनादेखि निराहार हो कि होइन ? मलाई जाँच होस् । 

निरन्तर सात महिना भयो, मैले पानी पनि खाएको छैन । निराहार प्रुफ हुनुपर्यो । जलधारा दिएर म जति पनि बस्न सक्छु ।’ 

उनले सिसिटिभी राखेर मिडियाहरूको उपस्थितिमा आफूलाई निराहार र अलौकिक क्षमताको परीक्षण गर्ने वातावरण बनाउन सरकारदेखि सरोकारवालासम्मलाई अनुरोध गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!