बालयौन दुरूपयोग गरेको आरोपमा ललितपुरबाट चाइल्ड केयरका सञ्चालक पक्राउ

Posted on: 14 Aug, 2023

साउन २९, काठमाडौँ | ललितपुरमा बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-२२ बुंगमती ब्लेस हाउस एन्ड चाइल्ड केयरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो। 


उनलाई आइतबार पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए। 

उनले गत असारदेखि साउन २६ गते बिहानसम्म चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई संवेदनशील अंग तथा शरीरका विभिन्न भागमा समाउने, सुमसुम्याउने गरेको एसपी कार्कीले बताए। 

प्रतिवाद गर्दा बुढाले बालिकामाथि निलडाम हुने गरी कुटपिट गरी शारीरिक यातना दिएर बालयौन दुरूपयोग गरेको प्रहरीले जनाएको छ। 

जिल्ला अदालत ललितपुरबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!