हाफ पेन्ट लगाएको भन्दै सेवाग्राही सेवाबाट वञ्चित

Posted on: 25 Jun, 2023

असार १०, काभ्रे | जिल्ला प्रशासन कार्यालय काभ्रेले आज बिहान एक व्यक्तिलाई हाफ पेन्ट लगाएको भन्दै पासपोर्ट सेवामा रोक लगाएको छ ।

आइतबार बिहान एक जना व्यक्ति पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे हाफ पेन्ट लगाएर पुगेका थिए । उनलाई हाफ पेन्ट लगाएको भन्दै प्रशासनले पासपोर्ट बनाउने लाइनबाट हटाइएको एकजना प्रत्यक्षदर्शीले बताएका छन् ।

लाइनबाट हटाइएपछि ती व्यक्तिले ‘ट्राउजर’ किनेर पुनः पासपोर्ट लाइनमा आएका थिए । प्रत्यक्षदर्शीले भने, ‘एकजना व्यक्ति हाफ पेन्ट लगाएर लाइनमा लागेका थिए । पालो आउने बेला प्रशासनले हाफ पेन्ट लगाएका व्यक्तिलाई लाइनबाट हटायो ।’ त्यसपछि ती व्यक्तिले बाहिर पसल गएर ‘ट्राउजर’ किनेर लगाएपछि आफ्नो काम गरेर फर्किएको प्रत्यक्षदर्शीले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलका अनुसार प्रशासनले सरकारी कार्यालय जस्तो स्थानमा हाफ पेन्ट लगाएर आउनु राम्रो हो ? भनेर सम्झाएको बताएका छन् । पौडेलले प्रशासनको सेवाका कुनै प्रकारको रोक नलगाएको बताएका छन् । उनले केबल एक सचेत नागरीको हैसियतले सुझाव मात्रै दिएको दाबी गरेका छन् ।

पौडेलले भने, ‘हामीले ती व्यक्तिलाई सेवामा रोक लगाएका हैनौँ । सचेत नागरिकको हैसियतले केबल भनेका हौँ । यदि यस्तो प्रकरणको काम प्रशासनले गरेको हो भने हामीसँग गुनासो सुन्ने निकाय पनि छ । त्यहाँ गएर गुनासो गर्दा हुन्छ । हामीलाई ती व्यक्तिको नाम पनि थाहा छैन ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!