हुम्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक अत्यन्तै दुर्गम हिमाली जिल्ला हो । शाके सन १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा वि सं. १८४६मा जुम्लालाई गोर्खाली फौंजले विजय गरेपछि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौंजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए । तिब्बतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरु भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । वि. सं. २०१८ सालमा भएको नेपालको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो ।
जिल्लाको नामाकरण
यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसङ्ग रहेको छ । अनगिन्ती हिम श्रृखलाहरूले भरिएको यो जिल्लाको नामकरण पनि यसैको सेराफेरोमा आधारित छ । एक थरिको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध खार्पुनाथमा प्रचिनकालमा कोटी होम लगाएको हुनाले यही होम लगाएको अर्थात "होमला" बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने, अर्का थरीको भनाई अनुसार "हुल्म लङिरङ्ग" अर्थात साँघुरो नदीबाट अपभ्रंस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ । यसका अतिरित्त "हुण" जातिहरूले यही बाटो भएर "ल्हा" भाज्याङ काटेर तिब्वत क्षेत्रमा प्रवेश गरेको हुनाले "हुण" र "ल्हा" बाट "हुम्ला" भएको भन्ने पनि भनाई रहेको छ।
हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट (सिमकोट) हो । यो समुद्र सतहबाट ३००० मीटरको उचाईंमा अवस्थित शहर हो ।
संक्षिप्त परिचय
हुम्ला जिल्ला मध्य–पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने कर्णाली अञ्चलको उत्तर पश्चिम भागमा अवस्थित छ । भौगोलिक क्षेत्रको हिसाबले नेपालको दोश्रो ठूलो जिल्ला र जनघनत्वको हिसाबले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्न आउँछ । मानव विकास सूचाकाङ्कको हिसाबले हुम्ला जिल्ला एचडिआई भ्यालु ०.४३२ सहित ७४ औं स्थानमा रहेको छ । अझैसम्म पनि यो जिल्ला सडकको राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैन । त्यसैले यो जिल्लाको विकासको प्रवेशद्धार अझै सम्म खुल्न सकेको छैन भन्न सकिन्छ । जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न सकिएको छैन । राज्यबाट भएको वहिष्करणको ब्यवहारको कारणले गर्दा यस जिल्लामा बसोबास गर्ने मानिसहरू स्वास्थ, शिक्षा र पोषण जस्ता आधारभूत आवश्यकताको परिपुर्तिबाट बञ्चित रहेका छन् ।
भौगोलिक अवस्था
मुगु जिल्लासँग सिमा जोडिएको दक्षिणी भाग भन्दा तिब्बतसँग सिमा जोडिएको उत्तर पश्चिम भेगको स्थिति सापेक्षिक रुपमा राम्रो रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो र यसलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो । यस खण्डमा हुम्ला जिल्लाको भौतिक, प्राकृतिक, प्रशासनिक तथा ऐतिहासिक विवरण प्रस्तुत गरिएको छ । यसमा खास गरी हुम्ला जिल्लाको भौगोलिक तथा प्रशासनिक अवस्थिति, ऐतिहासिक पृष्ठभूमि, भौगोलिक तथा प्राकृतिक विवरण, जलवायु र जलश्रोतको विवरणको व्याख्या तथा विष्लेषण गरिएको छ । भौगोलिक अवस्थिति हेर्दा हुम्ला जिल्ला २९º ३५ देखि ३०º ५७ उत्तरी अक्षांश र ८१º १८ देखि ८२º १० मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । कूल ५६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस जिल्ला नेपालमा डोल्पा पछिको दोश्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । हुम्ला समुद्र सतहबाट १५२४ मिटर देखि ७३३७ मिटरमा उचाइमा अवस्थित रहेको यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमा बझाङ्ग र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछन् । भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएको छ ।
प्रशासनिक विभाजन
प्रशासनिक हिसावले हेर्दा हुम्ला जिल्ला नेपालको मध्य–पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत कर्णाली अञ्चलमा पर्दछ । ९ इलाका र २७ गाविसमा विभाजित हुम्ला जिल्लामा एक मात्र निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो जुन समुद्र सतह देखि २९४५ मिटर उचाईमा अवस्थित छ। हुम्ला जिल्लाको राजनीतिक तथा प्रशासनिक विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।
जिल्लाको ऐतिहासिक पृष्ठभूमि
नेपाल राज्यको कर्णाली अञ्चलमा पर्ने हुम्ला जिल्ला एक उच्च संभावना भएको हिमाली जिल्लाको रुपमा चिनिन्छ । यो जिल्ला देशको सुदुर उत्तर पश्चिममा पर्दछ र देशको उत्तरी विन्दु "यारी" पनि यही पर्दछ । सन् १३९३ मा मेदिनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्नो ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा वि.सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि पनि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दबाउनुको साथै तिव्वतको खोजेर सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रुपमा मिलाएका थिए । तिब्बतको ताक्लाकोट उत्तर पश्चिममा अत्याधिक रुपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरु भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । वि.सं. २०१८ सालमा भएको नेपाल अधिराज्यको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रुपमा स्थापित हुन पुग्यो । यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसंग रहेको छ । अनगिन्ती हिमश्रृंखलाहरुले भरिएको यो जिल्लाको नामाकरण पनि यसैको सेरोफेरोमा आधारित छ । एक थरीको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यही होम लगाएको अर्थात होम+ला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार, हुल्म लङरिंग अर्थात साँगुरो नदीबाट अपभ्रंस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ । यसका अतिरिक्त हुण जातिहरुको यही बाटो भएर ल्हा भञ्ज्याङ्ग काटेर तिब्ब्त क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ ।[२]
माटोको बनावट, उर्वराशक्ति र भू–क्षय
नेपालको हुम्ला जिल्लामा पाइने एक प्रकारको जंगली फूल स्थानिय भाषामा यसलाई डोइली फूल भनिन्छ ।
नेपालको अन्य जिल्लासँग यस जिल्लालाई तुलना गर्दा कृषि उत्पादनका हिसाबले कुनै पनि किसिमले कृषि उत्पादनमा प्रयोगमा आउन नसक्ने जिल्लाको आधा जति भू-भाग करिब ३०७२ वर्ग कि.मी. क्षेत्रफल चट्टानले ढाकेको छ यसर्थ यहाँको माटोको बनौट खेती योग्य नभई चट्टान, ग्राभेल र हिउँले ढाकेको छ । फलस्वरुप खेतीपातीका लागि जग्गाको अभाव रहेको छ र वन जङ्गलले ढाकेको अति भिरालो जग्गामा पनि खोरिया फँडानी गरेर खेती गर्ने गरिएको कारण उक्त जग्गा क्षयीकरण भएर मरुभूमिमा परिणत हुँदै गई रहेको छ । यसका साथै यहाँ अन्य क्षेत्रमा भन्दा बर्षा कम हुने कारणले पनि खेतीपाती गर्न त्यति संभव देखिदैँन तर खोरियाको रुपमा भए पनि केही भागमा मानिसहरू खेतीपाती गरेको पाइन्छ । वास्तवमा यहाँ खेतीको लागि योग्य जमिन नै उपलब्ध छैन । तसर्थ यहाँ १२ महिना खाद्यान्नको अभाव रहन्छ । यहाँ जमिनको वैज्ञानिक उपयोगको आधारमा फलफुल, वन, चरन तथा पशुपालन गर्न उपयुक्त देखिन्छ । सिमित मात्रामा भए पनि यस जिल्लामा अन्य जिल्ला जस्तै धान, मकै, कोदो, फापर, गहुँ, र जौको खेति गरिन्छ भने आलु यहाँको मुख्य खाद्यान्नको रुपमा रहेको छ । यस जिल्लाको अधिकांश कृषि क्षेत्रमा उवा मुल खाँद्यान्नको रुपमा लगाउने गरिएको पाइन्छ ।
माटोको प्रकार तथा बनौटले हिसाबले जिल्लालाई निम्नानुसार तीन भाग तथा क्षेत्रमा बाँडिएको छ ।
१. दक्षिणतिरको होचो क्षेत्र
नदि किनारमा अवस्थित तुलनात्मक रुपमा समथर भू–भागमा नदी नालाले बगाएर ल्याएको मलिलो माटो भएको क्षेत्र हो । यहाँ पाँगो, दोमट तथा बलौटे माटो पाइन्छ जसमा धान, गहुँ र मकै खेती गरिन्छ । साथ साथै वनजङ्गल पनि यस क्षेत्रमा पाइन्छ ।
२. उच्च क्षेत्र
उच्च भू–भाग र अग्ला टाकुरा भएको यस क्षेत्रमा धेरै जसो ठाउँमा बाह्रै महिना हिउँले ढाकेको हुन्छ । धेरै जसो भाग चट्टान रहेको छ भने केही भागमा वनजङ्गल पनि रहेको छ । यहाँ खास गरी गेग्रान र बलौटे माटो पाइन्छ ।
३. सदरमुकाम वरीपरिको क्षेत्र
यस क्षेत्रमा बलौटे र ढुङ्गा मिसिएको माटो पाइन्छ । यस क्षेत्रमा फापर, गहुँ, जौ, कागुनो, उवा, चिनो, कोदो, सिमी र आलुको खेती गरिएको पाइन्छ । उच्च हिमाली हावापानीका कारण यहाँ धेरै वर्षा नहुने भएकोले यहाँ वर्षाको कारण हुने भू-क्षयको मात्रा सिमित रहेको छ । तर अति भिरालो भू-भाग, खोरिया फडानी गरी खेती गर्ने चलन र धेरै संख्यामा नदीनाला रहेको कारण भू-क्षयको समस्या पनि विद्यमान छ । यसका साथै हिउँद याममा हिउँ पहिरो जाने गर्दा भू-क्षय हुने गर्दछ । तर अन्य जिल्ला जस्तो भू-क्षय र नदी कटानको समस्या रहेको छैन ।
जलवायु
हिमाली जिल्लाको रुपमा चिनिएको हुम्ला जिल्ला पर्यावरणीय क्षेत्र तथा जलवायुको हिसावले हेर्दा पनि उच्च पहाडी, मध्य पहाडी र होचो नदीतट तथा बेंशी क्षेत्र गरी ३ भागमा विभाजन भएको हुँदा यहाँको जलवायुमा पनि सोही अनुसारको भिन्नता पाइन्छ । समुद्र सतहको १५२४ मिटर देखि ७३३७ मिटर सम्मको उचाईमा अवस्थित यस जिल्लामा शितोष्ण, समशितोष्ण र उतोष्ण तीनै किसिमको हावापानी पाइन्छ । यस जिल्लाको अधिकतम तापक्रम, १०º देखि २५º सेल्सियस र न्यूनतम तापक्रम –१०º देखि –२८º सम्म पुग्ने गर्दछ ।[१] यस जिल्ला नेपालको सुदुर उत्तर पश्चिम भेगको हिमाली भागमा अवस्थित रहेको हुँदा तुलनात्मक रुपमा यहाँ वर्षा कम हुन्छ । यहाँको वार्षिक औषत वर्षा २५.४ देखि १४६.९ मिमि सम्म भएको पाइन्छ । विविधतापूर्ण हावापानी र भू–प्राकृतिक संरचनाका कारणले गर्दा नेपालको अन्य उच्च पहाडी जिल्ला जस्तै यहाँको हावापानी पनि विषम र विविधतापूर्ण रहेको पाइन्छ । उचाईको भिन्नता र पहाडी ढालको उत्तरी तथा दक्षिणी पाटाहरु समेतमा पनि हावापानीमा भिन्नता पाइन्छ र जिल्लाका चारैतिर अग्ला लेक तथा पहाडहरुमा प्रायः बाह्रै महिना हिउँ जमिरहन्छ ।यस जिल्लामा अग्ला हिमाल, पहाड र लेक भएको हुँदा जलश्रोत र पर्यावरणीय विविधतामा धनि रहेको यस क्षेत्रमा बाह्र महिना हिउँ जमेको हुन्छ भने अन्य उच्च पहाडी भागमा पनि हिउँदको समयमा हिउँ पर्दछ ।
जलश्रोतहरू
हुम्ला जिल्ला जलश्रोतको धनी जिल्लाको रुपमा रहेको छ । नेपालको सबभन्दा लामो नदी कर्णाली तिब्बतबाट यारी नाका भएर प्रबेश गरी लगभग हुम्ला जिल्लालाई बीच पारेर बगेको छ । यसको साथै यहाँ १०० भन्दा बढी हिमालबाट हिउँ पग्लेर बग्ने स्थायी श्रोत भएका नदीहरू, २० भन्दाबढी प्राकृतिक रुपले रमणीय र साँस्कृतिक रुपले महत्वपूर्ण तालतलैया, मुल तथा झरनाहरू रहेका छन् ।[२]
मुख्य चाडपर्वहरू
यस जिल्लामा हिन्दू र बौद्ध धर्मालम्वीहरूको वसोवास रहेकोले राष्ट्रिय चाडपर्वहरू दशैं, तिहार, माघे सङ्क्रान्ति, चैते दशैं आदि जस्ता चाडपर्वको साथै स्थानीय चाडपर्वहरू पनि मनाउने प्रचलन रहेको छ । स्थानीय चाडपर्वमा साउने संक्रान्ती, अनन्ते पूर्णिमा (ईन्द्र जात्रा), गौरा पर्व दशैं तिहार भन्दा पनि धुमधाम साथ मनाउने गरिन्छ । यस चाडमा स्थानीय देउडा लोक नृत्य महिला र पुरुषको समूह बनाई गाउने तथा नाच्ने गरिन्छ । वौद्ध धर्मालम्वीहरूले लोसार, माने र रलिङ्क पूर्णिमा आदि धुमधाम साथ मनाउने गर्दछन् |
भेषभूषा
यस जिल्लामा पाईने हावापानीको विविधताका कारण रहन सहन र भेषभूषामा पनि विविधता रहेको पाइन्छ । हुम्ला जिल्लाको भौगोलिक वनावटलाई मुख्यतया तीन भागमा बाँडेर हेर्दा जिल्लाको उत्तरी भागका गा.वि.स. हरूमा प्रायः जसो हिउँ पर्ने र अत्यधिक जाडो हुने गर्दछ भने सो क्षेत्रमा सबै बौद्ध धर्मालम्वीहरूको बसोबास भएको हुँदा भेषभूषामा वख्खु, पाखोको सुरुवाल, दोचा लगाउने गरेको पाइन्छ भने जिल्लाको मध्य भागमा केही न्यानो हावापानी हुने हुँदा र प्रायः जसो हिन्दू धर्मालम्वीहरूको बसोबास भएकोले दौरा सुरुवाल, कोट, चोलो धोती तथा पेण्ट सर्ट लगाउने गर्दछन् । त्यस्तै जिल्लाको दक्षिणी भागमा मध्य भागको तुलनामा न्यानो हावापानी पाईने र प्रायः हिन्दू धर्मालम्वीहरूको बसोबास भएकोले हिन्दु परम्परा अनुसार दौरा सुरुवाल, कोट, चोलो धोती तथा पेण्ट सर्ट लगाउने गरेको पाइन्छ । यस जिल्लाका महिलाहरूले स्थानीय परम्परागत गरगहनाका साथै आधुनिक गरगहना समेत लगाउने प्रचलन रहेको छ । स्थानीय गरगहनामा पोते, कौडाका माला, मुगा र सिक्काका माला साथै फुली वुलाकी, टोप औंठी आदि लगाउने गरेको पाइन्छ भने बौद्ध धर्म मान्ने महिलाहरूले कानमा आङगुल, गलामा मोतीका माला र औंलामा औठी लगाउने गर्दछन ।
संस्कृति
यस जिल्लाका हिन्दु तथा बौद्ध धर्मालम्वीहरू दुवैमा धामी, झाक्री तथा लामामा विश्वास रहेको पाइन्छ । प्रायः जसो ग्रामिण भेगका घर परिवारका सदस्य बिरामी पर्दा कृषि तथा पशु समस्या देखा पर्दा समेत धामी, झाक्री तथा लामाबाट उपचार गर्ने प्रचलन रहेको छ । दुबै धर्मालम्वीहरूले आ-आफ्नो संस्कार अनुसार जन्म देखि मृत्युसम्मका विभिन्न संस्कारहरू जस्तै न्वारान, पास्नी, व्रतवन्ध, विवाह र मृत्यु पछि काजक्रिया गर्ने चलन रहेको पाइन्छ । मृत्यु पश्चात् लाशलाई जलाउने र बच्चाहरूको भए जमिनमा गाड्ने चलन रहेको छ । मृत्यु हुँदा प्रायः १२ दिन काजक्रिया बसी १३ औं दिनमा क्रिया सक्ने चलन रहेको छ । बुबा मर्दा एक वर्षसम्म मासु नखाने र आमा मर्दा १ वर्षसम्म दुध नखाने चलन पनि रहेको छ । बौद्ध धर्मालम्वीहरूको भने लाश लाई लामाले जोखाना हेरी जलाउने जमिनमा पुर्ने वा काटेर चिल वा गिद्धलाई खुवाउने प्रचलन रहेको पाइन्छ । हिन्दू धर्मालम्वी महिलाहरूमा नछुने (छुइ) हुँदा ७ दिनसम्म र सुत्केरी हुँदा अछुत भई छुन नहुने परम्पराले गर्दा १५ देखि ४५ दिनसम्म पशु राख्ने गोठमा राख्ने र त्यही खाना दिने प्रचलन रहेको छ । हिन्दु धर्मालम्वीहरूले छोरा जन्मेमा धुमधाम साथ पुरेत लगाई ९ दिनमा न्वारान गर्ने र छोरी भएमा ६ दिनमा नै न्वारान गर्ने प्रचलन रहेको पाइन्छ । केटाहरूको ७ देखि १६ वर्षको उमेरमा व्रतवन्ध गर्ने गरिन्छ भने त्यस पछि ब्राह्मण, शाही, ठकुरी जस्ता माथिल्लो जातकाले आफु भन्दा तल्लो जातले छोएको नखाने परम्परा भए पनि हाल क्रमशः हट्दै गएको पाइन्छ । यस जिल्लामा हालसम्म पनि छुवाछुतको चलन रही रहेको पाइन्छ ।
विवाह पद्धती तथा वैवाहिक प्रचलन
यस जिल्लामा विवाह पद्धति परम्परागत ढंगले नै हुने गरेको पाइन्छ । जसले गर्दा बाल विवाह अझैसम्म पनि प्रचलित रहेको पाइन्छ । प्रायः विवाहको उमेर १० वर्ष देखि २० वर्षसम्म गर्ने प्रचलन रहेको छ । ब्राह्मण जातीले छोरीको विवाह महिनावारी नहुदै गरी दिने प्रचलन अझै कायमै रहेको पाइन्छ । विवाह भएकी आईमाईलाई अर्काले विवाह गरेमा जारी तिर्नु पर्ने परम्परा अझैसम्म रहेको छ । जारीको प्रकृति तथा अवस्था हेरी १०-१५ हजार देखि २ लाखसम्म हुने गरेको पाइन्छ । जो पुरुषले जारीको रकम धेरै तिर्न सक्छ उ समाजमा मान्य हुन्छ । यस जिल्लामा रहेका लामा जातीहरूमा अझै वहुपति प्रथाको प्रचलन रहेको पाइन्छ । सबै दाजु भाईले एउटै श्रीमति राख्ने प्रचलन रहेको छ । यदि छुट्टै विवाह गरेमा अंशबाट वञ्चित हुने र छुट्टै बस्नु पर्ने जस्ता बाध्यता रही आएको छ । आधुनिक जीवनको प्रभावसँगै यो प्रचलन विस्तारै हट्दै गएको पाईन्छ ।
धार्मिक तथा पर्यटकिय स्थलहरू
यस जिल्लाका २७ वटा गा.वि.स.हरू मध्ये वौद्ध धर्मालम्वीहरूको वसोवास रहेको गा.वि.स. हरूमा लिमि, मुचु, खगालगाँउ, हेप्का, वरगाँउ, सिमकोट, ठेहे गरी ७ वटा गा.वि.स. हरू रहेका छन् भने अन्य गा.वि.स. हरूमा क्षेत्री जातीको बाहुल्यता रहेको छ । यस जिल्लामा हिन्दुहरूका प्रचलित मन्दिरहरूमा खार्पूनाथ, महादेवल मन्दिर, लवासुर माडु, भगवती माडु आदि रहेका छन् भने बौद्ध धर्मालम्वीहरूको गुम्वाहरूमा रलिङ्ग गुम्वा, याल्वाङ्ग गुम्वा, रिझिलिङ्ग गुम्वा आदि प्रमुख रुपमा रहेका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!