प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको घाँटी रेटेर हत्या

Posted on: 12 Feb, 2024

प्रेमाघ २९, काठमाडौँ | प्रेमसम्बन्धकै कारण शैलुङ गाउँपालिका– ४ मा एक युवकको हत्या भएको छ । गत ११ पुसमा दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाका परिवारले घाँटी रेटेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाले आइतबार पत्रकार सम्मेलन गरी उक्त बीभत्स हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । 


हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका– ५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई दोलखा प्रहरीले सार्वजनिक गरेको हो । उनीहरूले प्रहरीमा भण्डारीको हत्या खुकुरीले घाँटी रेटेर गरेको बयान दिएका छन् । दोलखा प्रहरी प्रमुख दीपक खड्काले युवकको हत्यामा उनीहरूको संलग्नता देखिएको र हत्या प्रेमसम्बन्धका कारण भएको बताए ।

प्रहरीका अनुसार ११ पुसको राति भण्डारी काटाकुटीस्थित १७ वर्षीया प्रेमिकाको घरमा बसेका थिए । गाउँको पूजामा गएका किशोरीका बाबु पुस्कर र ठूलोबुबा ईश्वर नेपाली मादक पदार्थ सेवन गरी घर आइपुग्दा भण्डारीलार्ई छोरीसँगै देखेपछि विवाद भएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

विवादपछि किशोरीका ठूलो बुबाका छोरा विशाल नेपाली पनि आएका थिए । त्यसपछि तीनैजना मिलेर भण्डारीलाई एकान्तमा लगेका थिए । विशालले घरबाट खुकुरी ल्याई भण्डारीलाई नजिकैको भट्टे भनिने ठाउँमा लगेर घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!