मृतक सुजनकी आमा सोध्छिन्- मेरो बाबुको होस आयो त ?

Posted on: 01 Jan, 2024

पुस १६, काठमाडौँ | अचेल दैलेखको महाबु गाउँपालिका– ६ स्थित नन्दा रावतको घरमा आउने–जाने मान्छे भइरहन्छन् । घरमा पुग्ने सबैले नन्दालाई सम्झाइ–बुझाइ गरिरहेका हुन्छन्, सान्त्वना दिइरहेका छन् । भन्छन्– बाबुलाई केही हुँदैन, छिट्टै होस खुलेर घर फर्कन्छ ।

४३ वर्षीय नन्दाको अवाज आउँदैन, तर आँखामा छोरा फर्कने आशा झल्कन्छ ।

हो, आज सोमबार बिहानसम्म पनि नन्दाका लागि आफ्ना छोरा सुजन अस्पतालको आईसीयूमा उपचाररत नै छन् । र, आफ्नो छोरा जीवन मरणको दोसाँधमा रहेको ठानेकी नन्दाले जीवन रक्षाको लागि भगवानसँग पुकार गरिरहेकी छिन् । तर सुजनले शुक्रबार नै संसार छाडिसेका छन् ।


घरपरिवार र आफन्तले अझैसम्म छोरा सुजन रावतको निधन भएको खबर आमा नन्दालाई भनेका छैनन् । शृंखलाबद्ध विपत्ति भोग्दै आएकी नन्दासामु कसैले वास्तविकता बताउन सकेका छैनन् । नन्दाले एक वर्षअघि अर्थात् २०७९ मंसिर २ गते पति भक्तबहादुर रावतलाई गुमाएकी थिइन् ।

पति भक्त बहादुरको उच्च रक्तचापका कारण निधन भएको थियो । पति वियोगमा रहेकी नन्दाले त्यसको एक महिनापछि आमा गुमाइन् । अहिले वर्ष दिन नपुग्दै उनले आफ्नो सहारा छाेरा सुजन गुमाइन् । त्यसैले आफूलाई संहाल्नै नसक्ने आकलन गरेर आफन्तले छोरा सुजनको मृत्युको खबर नन्दालाई सुनाउन नसकेका हुन् ।

घरमा पुग्नेजतिले छोराको उपचार भइरहेको भनेपछि उनको मनमा छोरा बाँच्ने आशाको दीयो निभेको छैन । घरमा कोही पनि नयाँ मान्छे आउनेबित्तिकै सोध्ने गर्छिन् ‘‘मेरो बाबु (छोरा) साँच्चै आईसीयूमा छ र ? होस् आयो त ?’’

भान्जाको मृत्युको खबर सुनाउँदा दिदीलाई स्वास्थ्य समस्या हुने डरले अझसम्म सत्य कुरा भन्न नसकिएको नन्दाका भाइ यामराज कटुवालले बताए ।

‘‘पोहोर साल भिनाजु बिते, त्यही साल हजुरआमा पनि बित्नुभयो । अहिले फेरि भान्जाको यस्तो भयो । दिदी सुगर र प्रेसरको बिरामी हुनुहुन्छ । यस्तो अवस्थामा सत्य कुरा सुनाउँदा कसरी सहलिन् दिदीले भनेर भन्न सकिएको छैन’’ यमराजले भने । आईसीयूमा राखेर उपचार भइरहेको छ भनेर ढाँटिरहेको उनले सुनाए ।

अहिले सुजनको आमा मात्र होइन, बहिनी र भाइसमेत सामान्य अवस्थामा छैनन् । उनीहरूलाई आफन्त र छरछिमेक सबै जम्मा भएर सान्त्वना दिइरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!