विनोद शाही हत्या अभियुक्तलाई उन्मुक्ति दिन खोजेको भन्दै स्थानीय आन्दोलित, प्रहरीद्वारा हवाई फायर

Posted on: 04 Jul, 2022

असार २०, अछाम | अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको घटनाका विषयमा आन्दोलन गरिरहेका स्थानीय र प्रहरीबिच झडप भएको छ ।

घटनाका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीय बासिन्दा पुन आन्दोलित भएका छन् ।

यसै बिच सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा झडप भएको हो । प्रहरीले झडपमा २४ राउन्ड अश्रुग्याँस र ३ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए ।


अभियुक्तलाई अदालत पेस गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीयबासिन्दाले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर उनले बताए ।

झडपमा प्रहरी तर्फ एक दर्जन बढी घाइते भएको उनको भनाइ छ । स्थानीय पनि घाइते भएका छन् । अहिले अवस्था सामान्य बन्दै गएको डाँगीले बताए ।

शाहीको हत्या संलग्न रहेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परिसकेका छन् ।

जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच पञ्चदेवलमा विवाद भएको थियो ।

त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

अहिले १३ जना मध्ये ७ जना मात्रै पक्राउ परेको र पक्राउ परेकाहरूलाई पनि उन्मुक्ति दिन खोजेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!