गाउँमै पुगेर नागरिकता र सीमा पास वितरण

Posted on: 16 May, 2019

जेठ २ , हुम्ला । (रासस) : दुर्गम हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको दुर्गम नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्बाङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिकरूपमा विकट भए पनि प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसहितको टोलीले उक्त गाउँपालिकामा एकीकृत घुम्ती शिविरमा सञ्चालन गरी चार हजार ३८ नागरिकलाई सेवा प्रदान गरेको हो । 

 सदरमुकाम सिमकोटबाट एक दिनको पैदल लाग्ने नाम्खा गाउँपालिकाको याल्वाङमा एकीकृत घुम्ती शिविर दुई दिनसम्म सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । शिविरमा ४५ लाई नयाँ नागरिकता, २४ लाई नागरिकताको प्रतिलिपि, दुईलाई नाबालक परिचयपत्र, आठलाई जनजाति सिफारिस, २०३ लाई नयाँ सीमा पास, २०१ को सीमा पास नवीकरण गएिको उहाँले जानकारी दिनुभयो । 

यस्तै शिविरमा ५० को फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको थियो । शिविरमा रु पाँच हजार ९१५ को हुलाक टिकट बिक्री गरिएको उहाँले बताउनुभयो । हरेक वर्ष जनताको घरदैलोमै गएर सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिएको प्रजिअ ढकालले बताउनुभयो । शिविरबाट प्रत्यक्षरूपमा नाबालकदेखि ६५ वर्षभन्दा माथिका नागरिक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । शिविर सञ्चालनका लागि प्रजिअ ढकाल, निर्वाचन कार्यालय हुम्लाका प्रमुखलगायत सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

 एक दिन हिँडेर नागरिकता र सीमा पास नवीकरण गर्न आउने समस्या समाधान भएको भन्दै त्यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । गाउँमै पुगेर सीमा पास र नागरिकता वितरण गर्दा उत्तरी नाम्खा गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । यतिबेला उत्तरी नाम्खा गाउँपालिकाका नागरिक छिमेकी राष्ट्र चीनमा काम तथा व्यापारको सिलसिलामा चीन जाने गर्दछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!