साउदीमा अलपत्र रोल्पाली युवाको उद्धार

Posted on: 27 Jul, 2023

साउन ११, रोल्पा | वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी अलपत्र परेका रोल्पाका एक युवाको उद्धार गरिएको छ । कम्पनीले काम नलगाउँदा ८/९ महिनादेखि अलपत्र परेका त्रिवेणी गाउँपालिका–४ बुढागाउँका मोहन घर्तीलाई रोल्पाली युवाहरुले उद्धार गरी बुधबार नेपाल पठाएका हुन् । 

साउदीथित एक कम्पनीले तलब र सेवा सुविधा नदिएपछि उनी अलपत्र परेका थिए । उक्त खबर उनले परिवारमा पठाएपछि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले उनको उद्धारको नेतृत्व गरेको हो । संस्थाका अध्यक्ष डिलाराम वलीले साउदी शाखा र त्यहाँ रहेका पदाधिकारीहरुले घर्तीको उद्धारमा सहयोग गरेको बताए । साउदीस्थित नेपाली दूतावासले समेत सहयोग गरेको संस्थाका उमान घर्तीमगरले बताए । साउदीको जेद्दास्थित नेपाली दूतावास कार्यालयले घर फिर्ता हुने कागजात र अन्य सहयोग जुटाइदिएको हो ।

मोहनलाई घर फर्कन आवश्यक पर्ने रकमको जोहो उनका साथीहरुले गरिदिएका हुन् । साउदीमा रहेका संस्थाका पदाधिकारीहरु भीम मगर, क्षितिज मगर, हरिप्रसाद विष्ट, खुम रोल्पाली, राज विष्ट, टीका मगर र एचबी घर्तीमगरले १/१ सय साउदी रुपैयाँ प्रदान गरेका थिए । यस्तै साउदीस्थित वाजत मुसाफिर ट्राभल्स र टुर्स कम्पनीले ५ सय ५० साउदी रुपैयाँ दिएको हो । उक्त रकमबाट नेपाल आउने टिकट खर्च गर्ने प्रबन्ध मिलाइको संस्थाले जनाएको छ।

अध्यक्ष वलीका अनुसार विदेशमा पुगेर अलपत्र रहेका युवाहरुलाई उद्धार गर्न संस्थाले सहयोग गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!