अक्सिजन नहुँदा रौतहटमा नवजात शिशुको मृत्यु

Posted on: 03 Sep, 2024

भदौ १८, रौतहट । रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजनको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ ।

बौधिमाई ४ स्थित इनरवारीस्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावमा एकजना नवजात शिशुको मंगलवार बिहान मृत्यु भएको हो । बौधीमाई नगरपालिका ४ का  गौरीशंकर पटेलका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरीको जन्म भएको थियो । 

जन्मिएको केही समयपछि शिशुको मुटुको चाल मन्द हुँदा थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा राखेर वीरगन्ज रिफर गरिएको थियो ।  वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको मृत्यु भएको पीडित पटेलले बताएका छन् । 

थप उपचारको लागि बिहान ५ बजे नवजात शिशुलाई वीरगन्जस्थित तराई अस्पतालमा लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले पनी अक्सिजन अभावमा शिशुको मृत्यु भएको स्वीकार गरेका छन् । 

नर्मल जन्मिएको बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरू आत्तिएर  शिशुलाई थप उपचारका लागि वीरगन्ज पठाएको थियो । तर  एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा अक्सिजन नहुँदा बच्चाको मृत्यु भएको थियो ।

बौधीमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले  एम्बुलेन्सको अक्सिजन नहुँदा शिशुको मृत्युको दुःखद घटना भएको  बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!