आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता हुने

Posted on: 12 Jan, 2023

पुस २८, काठमाडौँ | आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादी पार्टीबीच एकता हुन भएको हो ।


दुई पार्टीबीच एकता हुने र नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । यादवका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसंग एकताको अभियानमा आजपा लागेको हो । भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै पार्टी गठन गरेका हुन् । आम जनता पार्टी गठन भएलगत्तै पार्टी प्रवेशको लहर चलेको छ ।

आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवान लगायत सयौ नेता आम जनता पार्टीमा प्रवेश गरेका थिए । पूर्व शहरी विकास राज्यमन्त्री एवम् काठमाडौ क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि आजपामै आवद्ध भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!