एक दिनको बाटो चार घण्टामा छोट्टियो

Posted on: 22 Dec, 2021

पुस ७, म्याग्दी | दुर्गम क्षेत्र मानिने रघुगङ्गा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गरेकामा अब यात्रा चार घण्टामा छोट्टिएको छ ।

सडक निर्माण भएपछि आवतजावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज र जडीबुटी निकासी गर्न सहज भएको वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्यता रहेको कुइनेमा मोटरसाइकल, जीप र ट्र्याक्टर गुड्न थालेका छन् । बिरामीलाई अस्पताल पुर्याउन सहज भएको छ ।  

रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने सडक निर्माण भएको हो । ठाडाखानीबाट कुइने जोड्ने १२ किलोमिटर दूरीको सडक मार्ग सञ्चालनमा आएको रघुगङ्गा गाउँपालिकाका सवइञ्जीनियर कमल चोखालले जानकारी दिनुभयो । यस वर्ष उपभोक्ता समितिमार्फत एक हजार ५०० मिटर सडक निर्माण भएपछि कुइने सडक सञ्जालसँग जोडिएको छ । “सडक स्तरोन्नतिको काम बाँकी छ”, उहाँले भन्नुभयो । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४० किलोमिटर रहेको छ ।  

कुइने जोड्ने सडक निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा रु ८० लाख विनियोजन गरेको थियो । सडकमा पर्खाल, नालीलगायतका संरचना निर्माण गर्न बाँकी छ । गत आवमा गाउँपालिकाले रु ४५ लाख विनियोजन गरेको थियो । कुइनेसँगै रघुगङ्गाका आठवटै वडाका सबै बस्तीमा सडक विस्तार भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!