बाढी-पहिरोमा परि कोशी प्रदेशमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता

Posted on: 28 Sep, 2024

असोज १२, विराटनगर | अविरल वर्षासँगै कोशी प्रदेशमा आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । भने ९ जना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी प्रहरी कार्यालयका अनुसार पाँचथरमा ४ र धनकुटामा १ जनाको मृत्यु भएको छ । पाँचथरमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । भने खोलाले बगाउँदा झापा, मोरङ र इलाममा ५ जना बेपत्ता भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । त्यस्तै, पाँचथरको फिदिम नगरपालिका– १ साँगेबोटेमा पहिरोले घर पुरिँदा ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो गरि ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् ।

धनकुटाको पाख्रीबास नगरपालिका– ५ मा पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । शुक्रबार साँझ कचनकवल गाउँपालिका–१ का पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका जमुवा खोलामा बेपत्ता भएकी छन् । कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् । इलामको माइ नगरपालिका ८ स्थित सेते खोला तर्ने क्रममा स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बू बेपत्ता भएका छन् । त्यस्तै मोरङको रतुवामाइ नगरपालिका ७ बस्दै आएका ७२ वर्षीया डुरोदेवी राजवंशी रतुवाखोला तर्ने क्रममा बेपत्ता भएकी छन् | किस्ने खोलाको पुलबाट गौरीगञ्ज–२ का ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!