यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसँग जोड्ने रूपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ। उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड)को काखमा यो जिल्ला अवस्थित छ। राजधानी प्रवेशको मुख्य मार्गको रूपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसँग सीमावद्ध भएर रहेको छ। त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ। यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ। यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ। यहाँ थुप्रै प्राकृतिक मनोरम स्थलहरू रहेका छन्। शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ। सेन वंशीय राजाहरूको दरबार मकवानपुरगढी (बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक संग्रहालयहरूले यस जिल्लाको सौर्न्दर्य अझ बढाएको छ। यस जिल्ला मा नेपालकै एकमात्र मानव निर्मित ताल छ जसलाई इन्द्रसरोवर वा कुलेखानी नामले चिनिन्छ । यस ताल को पानी बाट कुलेखानी प्रथम कुलेखानी दितिय र कुलेखानी तृतीय(हाल निर्माणाधीन ) मा विद्युत उत्पादन गरिन्छ । जो नेपाल विद्युत प्राधिकरण को "Backup" को रूपमा रहेको छ ।
जिल्लाको नामाकरण
यस जिल्लाको नामाकरण सेनवंशीय प्रतापि राजा मुकुन्द सेनको नाम अप्रभंश हुदै माकन्दपुरवाट अन्तमा मकवानपुर भएको जनश्रुती यहाँ प्रचलित छ।
ऐतिहासिक पक्ष
यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न। किंवदन्ती र फाटफुट निस्केका लेखहरू अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ। वनबासको क्रममा पाँच पाण्डवहरू यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उनैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ। हेडम्बा राक्षसकी बहिनी भूटनीस“ग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ।
यस जिल्लामा आदिवासी जनजातिको रूपमा रहेका राई (देवास) जातिहरू दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार सय वर्षअघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरूको राजधानी रहेको बताइन्छ। त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरूको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरूको बाहुल्य त्यसको सवुत हुन सक्दछ।
आज भन्दा २३ सय वर्ष पहिले नेपालको भ्रमणमा आउँदा चित्लाङ्गमा सम्राट अशोक कि पुत्री चारुमती ले स्थापना गरेको चैत्य देखि लिएर लिच्छवी कालीन राजा नरेन्द्रदेवलाई राजा प्रमाणित गर्ने एक मात्र शिलालेख पृथ्वीनारायण शाहको ससुराली अर्थात् मकुन्ददेवको दरवार रहेको मकवानपुरगढी र सामरिक हिसाबले महत्वपूर्ण भएर काली तोप रहेको र उपत्यकाबाट बाहिर जाँदा जाच गर्ने र राहदानी दिने तथा राणकालीन भन्सार चौकि चिसापानीगढीले यस जिल्लाको ऐतिहासिक महत्व दर्शाउछ।
भौगोलिक अवस्थिति
मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ। पूर्व साघुरो हुँदै पश्चिम तर्फबेलुन फुलेझै फुकेको आकारमा छ।
अक्षांश: २७.१०" देखि २७.४०" उत्तरी अक्षांश
देशान्तर: ८४.४१" देखि ८५.३१" पूर्वी देशान्तरसम्म
क्षेत्रफल: २४२६ वर्ग कि.मि. (नेपालको कूल क्षेत्रफलको १.६५५ भाग)
सिमाना: पूर्व काभ्रे र सिन्धुली जिल्ला, पश्चिम चितवन र धादिङ्ग जिल्ला, उत्तर काठमाडौंं र ललितपुर, दक्षिण पर्सा, बारा र रौतहट जिल्ला
सबैभन्दा ठूलो गाविस: मनहरी गाविस (क्षेत्रफल २५६.५७ बर्ग कि.मि.)
सबैभन्दा सानो गाविस: कोगटे गाविस (क्षेत्रफल १०.३५ वर्ग कि.मि.)
सबैभन्दा बढी जनघनत्व भएको गाविस: पदमपोखरी गाविस
सबैभन्दा कम जनघनत्व भएको गाविस: मनहरी गाविस
प्राकृतिक स्वरूप
यो जिल्ला मध्य पहाडी जिल्ला हो। यहा“को ७५५ भू-भाग पहाडले ढाकेको छ। शिशिर याममा हिउं पर्ने २५८४ मिटरको उच्च भू-भाग -दामन गाविसको सिमभञ्ज्याङ्ग हो भने दक्षिणतर्फ समुद्री सतहको १६६ मिटर सम्मको होचो भू-भाग-राईगाउँ गाविसको हात्तीढुङ्गा रहेको छ। मकवानपुर जिल्ला विभिन्न जात जाति तथा सांस्कृतिक विविधताको साथै हिउपर्ने पहाडी क्षेत्रदेखि समथर मैदानसम्म भएको यस जिल्ला जैविक विविधताको दृष्टिले पनि अन्यन्तै धनी रहेको छ। यसलाई सुनगाभाको प्राकृतिक म्यूजियमको रूपमा पनि चिन्न सकिन्छ। छोटो दूरी तथा सानो भूभागमा पनि ठूलो वातावरणीय विविधताको श्रृंखला रहेको भैसेदेखि सिमभन्ज्याङ्ग सम्मको उचाईमा ९० जाति (जेनेरा)को सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ।
हावापानी
जिल्लाको धरातलीय विविधता संगसंगै यहांको हावापानीमा पनि निकै विविधता पाइन्छ। यहाँ मुख्यतया ३ किसिमको हावापानी पाइन्छ जसमा दक्षिणतर्फचुरे श्रृंखलाको आसपास उष्ण, त्यसपछि क्रमशः उत्तरतर्फसमशीतोष्ण र शीतोष्ण किसिमको हावापानी पाइन्छ। यस जिल्लामा वाषिर्क सरदर २५३५ मिलि लिटर वर्षा हुन्छ। यो अङ्क नेपालको चेहरापुञ्जी भनेर चिनिने कास्की जिल्लाको पोखरा पछिको अङ्क हो। जाडो महिनाको पुस माघमा न्यूनतम १६.६ डि.से. तापक्रम पाइन्छ भने गर्मीयामको बैशाख जेठमा अधिकतम ३०.३ डि.से. तापक्रम पाइन्छ।
नदी नाला/ताल
यस जिल्लालाई जलाधारको रूपमा चार जलाधार क्षेत्र र १२५ उप-जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ। चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र त्रिशुली हुन्। यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ। जिल्लाको पूर्वी सीमा नदीको रूपमा रहेको वाग्मती नदी, पूर्व मध्यभागबाट शुरु भै दक्षिणतर्फबग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर यस जिल्लाका प्रमुख नदीहरू हुन्। यस जिल्लामा विद्युत् उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रूपमा रहेको छ। यो कुलेखानी र मार्खु गाउ विकास समितिको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ। स्थायी पानीको श्रोतको अभाव रहेको यी नदीहरूमा वर्षातको समयमा बाढीको रूपमा प्रशस्त मात्रामा पानी बगेता पनि हिउंदमा ज्यादै कम पानी बग्ने गर्दछ।
भू-उपयोग
यस जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर मध्ये कृषियोग्य जमीन ६१४८९ हे. -२५.१५%), झांडी, घांसे मैदान ४९६८ हे. -२.०३%), खोलानाला तथा बगर १६७१० हे. -६.८३%), वन क्षेत्र १४४५५८ हे. -५९.१४५), औद्योगिक क्षेत्र १६०७ हे. (०.६६%), निकुञ्ज क्षेत्र १५१२५ हे. (६.१९%) छ। जिल्लाको ७५ प्रतिशत भूभाग पहाडी र २५ प्रतिशत भूभाग समथर रहेको छ।
मुख्य पर्वत श्रृंखला
चन्द्रागिरी :फाखेल गाविसदेखि टिष्टुङ्ग गाविससम्म महाभारत : बेतिनी गाविसदेखि खैराङ्ग गाविससम्म चुरे : राईगाउँ गाविसदेखि मनहरी गाविससम्म
मुख्य पेशा
मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहाँका मानिसहरूको मुख्य पेशा कृषि नै हो। यहाँको कूल जनसंख्या मध्ये ८२.७% कृषिमा र १७.३५ गैर कृषिमा संलग्न छन्। आर्थिक रूपले सक्रिय जनसंख्याको ५३.६% कृषिमा र ४६.९४% जनसंख्या गैर कृषि पेशामा संलग्न छन्।
जात जाति
मकवानपुर जिल्ला बहुजातीय र बहुभाषिक जातजातिहरूको एउटा फूलबारी हो। यो जिल्ला तामाङ्ग जातिको बाहुल्य भएको जिल्ला हो। यहाँ ४७.३% तामाङ्ग छन्। ७०% भन्दा बढी जनजातिहरूको बसोबास रहेको छ। तामाङ्ग जाति पछि दोस्रो स्थानमा ब्राम्हण(१४.९%), तेस्रोमा क्षेत्री (१०.६%), चौथोमा नेवार (६.८%), पा“चौमा मगर (५.०१%) र छैठौंमा चेपाङ्ग (३.८%) आदि विभिन्न जातजाति प्रमुख रूपमा रहेको छन्। दलित जातिहरू करिव ७% छन्। जातीय विविधताको धनी यस जिल्लामा अन्य जिल्लामा नभएको र लोपोन्मुख अवस्थामा पुगेका वनकरिया जातिको पनि बसोबास छ।
धर्म
यस जिल्लामा विविध धर्म र सम्प्रदायका मानिस बसोबास गर्दछन्। तामाङ जातिको वाहुल्य रहेको भएतापनि हिन्दू धर्म मान्नेहरू बढी देखिन्छन् भने क्रिश्चियन र इस्लाम धर्म मान्नेहरू न्यून रहेको पाइन्छ। यस जिल्लामा हिन्दूधर्मावलम्वीहरू ४९.३६% छन् भने बौद्ध धर्म मान्नेहरू ४७.६३% छन्। क्रिश्चियन र इश्लाम धर्मावलम्वीहरू क्रमशः २.०७ र ०.३२ प्रतिशत रहेको तथ्याङ्कबाट देखिन्छ।
धार्मिक स्थल
मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरू उल्लेख्य रूपमा छन्। हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ। चुरियामाई गाविसमा चुरियामाईको र भैंसे गाविसमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन्। त्यसैगरी दामन गाविसमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटार गाविसमा स्यार्सेकालिका, चित्लाङ्ग गाविसमा शिवालय,हेटौंडा -९, चौधघरेमा शीर्षक लिंङ्करहेको कुष्माण्ड सरोबर त्रिवेणीधाम (मुक्तीनाथ पछिको १०८ धारा रहेको नेपालकै एक प्रसिद्ध धार्मिक एंव पर्यटकिय स्थल) साथै चिसापानी गडि मा बटुक भैरव को प्रसिद्ध मन्दिर छ । यसका अलावा तामाङ बाहुल्य क्षेत्रमा गुम्बा बौद्ध घ्याङ आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरू छन्।
प्रमुख बजार केन्द्रहरू
समाज र जनसंख्याको विकासको क्रमसंगै ग्रामीण क्षेत्रहरूमा ग्रामीण जनताको आवश्यकताका वस्तु तथा सेवाहरू र स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरू खरीद विक्री गर्ने उद्देश्यले विभिन्न ग्रामीण क्षेत्रहरूमा बजार केन्द्रहरू स्थापना र विकास हुंदै गएको पाइन्छ। यसरी स्थापना र विकास भएका बजारहरू हेटौंडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, चौघडा, पालुङ्ग (ओखरेबजार), हुन्। त्यसैगरी भैंसे, दामन (शिखरकोट), हटिया (चिसापानी), बसामाडी (बस्तीपुर), बज्रबाराही (सरस्वती बजार), मार्खु, कुलेखानी, नामटार, हर्नामाडी आदि पनि क्रमशः बजारउन्मुख गाविसहरू हुन्।
यस बिषयमा तपाइको प्रतिक्रिया...!