आज बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

Posted on: 30 Jul, 2024

साउन १५, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट आज विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिन पछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

१२ साउन मात्रै सरकारलाई पूर्णता दिएका लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!