चार महिनादेखि अवरुद्ध मेची राजमार्ग खुल्यो

Posted on: 08 Feb, 2022

माघ २५, मङ्गलबारे | गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ । पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो । मर्मत भएको सडक कच्चीरूपमा खोलिएको, एकतर्फी सडक सञ्चालनमा आएको बताइएको छ । पहिरो झरेको माथिल्लो भागको भित्तो कोपरेर सवारीसाधन गुड्ने गरी सडक निर्माण गरिएको छ ।

तत्कालका लागि मालवाहक सवारी एकतर्फीरूपमा मात्र सञ्चालन हुने गरी सडक निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जोखिम कायमै रहेकाले दिउँसो मात्र सञ्चालन गर्न सहज हुने छ । मेची राजमार्गमा पहिराका कारण सडक झरेपछि ताप्लेजुङ, पाँचथरलगायतबाट इलाम हुँदै झापा तथा काठमाडौँसम्म सञ्चालन हुने साना तथा ठूला सवारी इलाम बजार भएर नै गुड्ने गरेका थिए । अब भने इलाम बजारको जामसमेत हट्ने भएको छ ।

करिब तीन महिनायता ठेक्का लागेर निर्माणाधीन पक्की सडक भने सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ । सो सडक मर्मतको काम डिभिजन सडक कार्यालय इलामले गरिरहेको छ । मर्मतका लागि मेची राजमार्गमा पक्की पुल नै निर्माण हुने भएकाले समय लाग्ने बताइएको छ । 

गत असोज १६ गतेदेखि सडकमा पहिरो खस्न सुरु भएपछि अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि साना सवारी इलाम बजार भएर एकतर्फीरूपमा चल्दै आएका थिए । ठूला मालवाहक सवारी भने रातको समयमा मात्र गुड्ने गरेका थिए । पाँचथर, ताप्लेजुङलगायत जिल्लाका उत्तरी र पश्चिमी क्षेत्रबाट आएका ठूला सवारी धोबीधारा, झापा र सुनसरीलगायतबाट आएका ठूला सवारी जिरोकिलोमा पार्किङ गरी राखेर रातको समयमा ओहोरदोहोर गरिँदै आइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!