इलाम-२ मा माओवादीले उम्मेदवारी नदिने

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे ।

यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभएको बताए । उनले वामपन्थीहरूबिच सहमति भए त्यहीअनुसार निर्णय हुने जानकारी दिए । 

‘लेफ्टहरूबिच सहमति भएमा त्यहीअनुसार हुन्छ । अहिलेसम्म सहमतिबारे लिखित सम्झौता भएको छैन’, उनले भने । 

 वैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले धीरेन्द्र शर्मालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर शर्माले उम्मेदवारी नदिने  निर्णय भएको जानकारी आफूलाई प्रदेश इन्चार्जबाट आएको बताए । 

‘प्रदेश इन्चार्जले उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिनुभएको छ । त्यही अनुसार एमालेका उम्मेदवारलाई जिताउन लाग्छौँ’, उनले भने । 

 इलाम- २ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन्, रास्वपाले मिलन लिम्बूलाई अघि सारेको छ भने पहिचान पक्षधरको तर्फबाट डाकेन्द्रसिंह थेगिम मैदानमा छन् । राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार छन् ।

यहाँ अब नेपाली कांग्रेसको उम्मेदवार टुंगिन बाँकी छ । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का मुख्य प्रत्यासी छन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । तर, सभापति शेरबहादुर देउवा सहमत छैनन् । उम्मेदवार छान्न बसेको यसअघिका २ वटा बैठक अनिर्णित बनेको छ । आज पुन: कांग्रेसले बैठक बोलाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!