धार्चेको पहिरो अपडेट: रेसेमा पहिरोमा बेपत्ता युवकको शव ७ दिनपछि फेला

Posted on: 03 Aug, 2024

साउन १९, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ ।

आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीय रमेश परियारको शव शनिबार विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको श्रेष्ठले बताए ।  ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बसेका थिए । त्यही बेला पहिरोमा परेर बेपत्ता भएका थिए ।

गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० बर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो ।

पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए । घाइतेहरुको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!