फोहोर नउठाएपछि स्थानीयले फाले नगरपालिका कार्यालयभित्र फोहोर

Posted on: 27 Jun, 2023

असार १२, दार्चुला | दार्चुलाको शैल्यशिखर नगरपालिकाले लामो समयदेखि गोकुलेश्वर बजारको फोहोर नउठाएपछि गोकुलेश्वरवासीले सङ्कलन गरेर नगरपालिकाको परिसरमा फालेका छन् । शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजारबाट निस्किने फोहरमैला विगत लामो समयदेखि नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै स्थानीय तथा व्यापारीहरूले नयाँ जुक्ति निकालेर मंगलबार नगरपालिकाको परिसरमा फाली विरोध प्रदर्शन गरेका हुन्।

जिल्लाको दोस्रो ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारबाट सङ्कलित फोहोर मैलाको नगरपालिकाले उचित व्यवस्थापन नगर्दा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बनेपछि स्थानीयले गोकुलेश्वर बजार क्षेत्रमा थुप्रिएको फोहोर आफैले सङ्कलन गरी नगरपालिकाका परिसरमा फालेको स्थानीयले जानकारी दिएका छन् ।

कार्यालयको मुलगेट अगाडि फोहोर थुपार्दै विरोध जनाएकाले समस्या राख्दा सुनुवाइ नै नगरी कर्मचारी रमिते बन्ने र जनप्रतिनिधिले अनुहारसमेत नदेखाएको भन्दै नगरपालिकाभित्र नगरप्रमुखको कार्यालय छेउमा नै लगेर फोहोरको डङ्गुर थुपारेका हुन् । बजारमा फोहोरको चाङ लाग्दा समेत नगरपालिकाले चाँसो नदेखाएको,अव्यवस्थित फोहोरले बजारको स्वरूप नै कुरूप भएको बताउँदै फोहर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दासमेत बेवास्ता गरेपछि स्थानीय सरकारलाई झक्झक्याउन नगर परिसरभित्र फालेको स्थानीयले बताएका छन् ।

‘अत्याधुनिक प्रविधि बायो टेक्नोलोजी भित्राएर हाम्रो चित्त बुझाएर प्रशोधन गर्ने र फोहरलाई मोहरमा रूपान्तरण गर्न सकिन्थ्यो,’ उनीहरूले भने, ‘तर नगरपालिकाले फोहर व्यवस्थापनलाई गम्भीरताका साथ लिएन, अनि हामीहरू बाध्य भएर नगरपालिका अगाडि फोहोर थुपार्‍यौँ। लामो समयदेखि बजारको फोहोर नउठाएर दुर्गन्ध फैलिन थालेपछि स्थानीय सरकारको परिसरमा फोहोर फालेका हौँ । सरोकारवाला निकायको ध्यानाकर्षण गराउनका लागि यस्तो गरिएको हो । ’

शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट नगरपालिकाले फोहोर मैला व्यवस्थापन गरिरहेको र व्यवस्थापन गरिरहेका कर्मचारीहरूलाई दुर्व्यवहार गरी बजारको फोहोर नगरपालिका परिसरमा फाल्नेहरूलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताउँछन् । ‘हामीले अल्पकालीन र दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गरिरहेका छौ ।’उनले भने,‘आज पनि फोहोर व्यवस्थापन गर्ने कर्मचारी व्यवस्थापन गरिरहेका थिए । केही अराजक समूहले उनीहरुमाथि दुर्व्यवहार गरी नगरपालिका पसिरमा फोहोर फालेको छ । यसरी फाल्नेहरूलाई कानुनी रूपमा कारबाही गर्ने छौँ । ’

बजारमा दैनिक उत्पादन हुने फोहोर कता राख्ने भन्ने टुंगो नलागेका कारण बजार क्षेत्रमा पनि थुप्रो उत्तिकै देखिन्छ । नगरपालिकाले फोहर व्यवस्थापन गर्न गाडी र ५,६ जना कर्मचारी भर्ना गरेर तलब खुवाइरहेको छ । तर, फोहोर उठाउने कर्मचारी महिनाको १ दिन मात्रै आउने र उठाएको फोहोर पनि बजार नजिकैको रुक्साल खोलामा फालेर जाने गरेका स्थानीय बताउँछन् ।

नगरपालिका स्थापना भएको ६ वर्षसम्म पनि फोहर व्यवस्थापन हुन नसकेपछि स्थानीयले पटक पटक दबाब दिदै आएका थिए । बजार र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दासमेत नगरपालिकाले फोहर व्यवस्थापनको लागि कुनै कार्य अगाडि नबढाएपछि बाध्य भएर नगरपालिकामा फोहोर फालेको स्थानीय बताउँछन् । फोहरको व्यवस्थापन गर्न नगरपालिकाका चुकेको स्थानीयको आरोप छ ।

घर तथा होटल सञ्चालनबाट सङ्कलित भएको फोहरको खुलेआम बजारमा फाल्ने गरेकै कारण बजारमा यात्रा गर्न समेत नसकिने अवस्था छ । वातावरण सन्तुलन राख्न नगरपालिकाले मुख्य चासो दिनुपर्नेमा नगरपालिका आफैँ मूकदर्शक बनेकाले फोहोर व्यवस्थापनको आशा टरेको छ ।

फोहर व्यवस्थापनको लागि डम्पिङ साइडको अभाव भए नगरपालिकाले डम्पिङ क्षेत्रको खोजी गर्न आफ्नो सक्रियता बढाउनुपर्ने भएपनि गरपालिका मौन बसेको आरोप स्थानीयको छ ।

सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अस्थायी रूपमा व्यवस्थापन गरिएको फोहोर पानीका स्रोतमा मिसिँदा पानी प्रदूषित भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!