बारामा मृत अवस्थामा बाघ फेला

Posted on: 20 Mar, 2024

चैत ७, बारा | बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा मंगलबार दिउँसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । 

कोल्हबी वन डिभिजन कार्यालयको वन गस्ती टोलीले उक्त पाटे बाघ मृत अवस्थामा फेला परेको हो । 

सो बाघको ४८ इन्च लम्बाई, घाटीको मोटाइ १८ इन्च, पेट्को मोटाइ ३२ इन्च, टाउकोदेखि पुच्छरसम्मको लम्बाई ५८ इन्च, पन्जाको लम्बाई ४ इन्च, उचाइ ३० इन्च र उमेर अन्दाजी ३ वर्ष रहेको इलाका प्रहरी कार्यालय कोल्हबीका निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए । उनका अनुसार पुच्छरको लम्बाइ १७ इन्च भएपनि काटिएको अवस्थामा ७ इन्च मात्रै बाँकी रहेको छ । 


त्यसैगरी माथिलो भागको बाङ्ग्ररा, ठूलो दात एउटा र सानो दात ४ वटा र एउटा ठूलो दात पनि भाचिएको छ । बाघको पछाडिको खुट्टाबाट एउटा नङ काटेर लगिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । निरीक्षक अधिकारीले सो घटना बारे थप अनुसन्धान भइरहेको बताए । 

पछिल्लो समय बारामा मृत अवस्थामा बाघ फेला पर्ने क्रम बढेको छ । यसअघि निजगढ नगरपालिका वडा नम्बर ४ स्थित कछडिया सामुदायिक वन समूहको जंगलमा गत महिना एउटा पाटे बाघ मृत अवस्थामा फेला परको थियो । त्यसैगरी २ महिनाअघि निजगढ ४ कै बाघ भैरव सामुदायिक वन क्षेत्रभित्र पनि एउटा चितुवा मृत अवस्थामा फेला पारिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!