सुनसरीमा दुई समुदायबीच झडप, कर्फ्यु आज पनि जारी

Posted on: 06 Apr, 2024

चैत २४,सुनसरी | सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रवार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो । 

सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कर्फ्युलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए । स्थानीय प्रशासनले अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

शुक्रवार हरिनगरको भुटाहाबाट चर्केको हिन्दु मुस्लिम बिचको झडपले दिनभरजसो दक्षिणी भेग अशान्त बन्न पुगेको थियो । दुवै समुदाय आपसमा भिडेपछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन ८३ राउन्ड हवाई फायर र ३१ राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । घटनामा परी ४० बढी घाइते भएका छन् । घाइते हुनेमा प्रहरीको सङ्ख्या ज्यादा रहेको दाबी गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!