मेयर हर्क साम्पाङले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने

Posted on: 25 Jan, 2024

माघ ११, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यव्यस्तता देखाउँदै सुनसरीको राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

साम्पाङले आफ्नै काममा व्यस्त भएकोले मत हाल्न जान नभ्याएको बताएका छन् । यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने बताएका थिए ।

त्यसो त धरान मेयर साम्पाङले प्राय जसो कुरामा बालेनको सपोटका गरिरहेको देखिन्छ । उनले चुनाव चिन्ह देखि अन्य विभिन्न नियमहरुमा पनि बालेनलाई पछ्याएको देखिन्छ । उनको मतदान गर्न नजानुको कारण पनि कार्यव्यस्तता नै रहेको छ ।


राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ ।

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ । आजै परिणाम सार्वजनिक हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार चार सय ९८ मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!