रूकुम पश्चिममा गाडी दुर्घटना हुँदा च्यापिए चालक, उद्धार प्रयास जारी

Posted on: 05 Aug, 2024

साउन २१, काठमाडौँ । रूकुम पश्चिममा गाडी दुर्घटना हुँदा च्यापिएका चालकको उद्धार प्रयास जारी छ। 

जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार रा १ च १३१७ नम्बरको गाडी दुर्घटनामा परेको हो। चालक मुसिकोट नगरपालिका-८ चोरखानीका १९ वर्षीय डम्मर खड्का उक्त गाडीमा च्यापिएका छन्।


मध्य पहाडी लोकमार्ग अन्तरगत रूकुम पश्चिमबाट रूकुम पूर्व तर्फ जाँदै गरेको उक्त पिकअप मुसिकोट–६ र ८ को सीमानामा पर्ने रिङदहमा उकालो चढ्न नसक्दा पल्टिएको हो। 

घटनास्थलमा रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार बिहान १०:५० बजेतिर दुर्घटना भएपछि चालक खड्का च्यापिएका छन्।

च्यापिएका खड्काले उद्धारका लागि हारगुहार गरिरहेको भएपनि गाडी हलचल गराउन सक्ने अवस्था नरहेको तथा भीरमा रहेको हुँदा चलाउँदा थप जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गरी जेसिबी बोलाइएको उनले बताए। 

‘घटनास्थल भीरमा छ र त्यो मानिसले हलचल गराउँदा झनै च्यापिएका चालकको ज्यान खतरामा पर्न सक्ने अवस्था छ,’ उनले भने, ‘हामीले जेसिबी बोलाएका छौं।’

जेसिबी पुगेपछि त्यसैले गाडीलाई माथि उचालेर पहिला चालकको उद्धार गर्ने योजना बनाइएको शाहीले बताए।

गाडी ब्याक हुनथालेपछि सहचालक त्रिबेणी गाउँपालिका–१० कोल्टीका १७ वर्षीय जयप्रकाश गौतम भने हाम फालेको हुँदा सकुशल रहेको प्रहरीले बताएको छ।

घटनाबारे सूचना पाए लगत्तै नजिकको प्रहरी पोष्टबाट प्रहरी निरीक्षक भिमबहादुर रावतको कमाण्डमा चार जना र जिप्रका रुकुम पश्चिमबाट शाहीको कमाण्डमा ७ जना प्रहरी खटाइएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!