पूजाको दियो हराएपछि महिलामाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार

Posted on: 16 Feb, 2024

फागुन ४, मोरङ | मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ । प्रहरीका अनुसार ५५ वर्षीया महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको हो ।

बिहीबार दिउँसो २ बजेतिरको घटनाका बारेमा प्रहरीले साँझ मात्रै जानकारी पाएको थियो । बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाएर कुटपिट गर्दै यातना दिने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 
पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनको भनाइ छ । प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । 
पूजाको दियो चोरी गरेको आरोप उनले पीडितलाई लगाएको प्रहरीको भनाइ छ । पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए ।  
उनका अनुसार जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । ‘यस्तो काम बोक्सीबाहेक अरुले गर्नै सक्दैन । दियो चोरेर मेरो घरमा लगाएको पूजा भाँड्ने काम गरियो,’ उनलाई उद्रित गर्दै प्रहरीले भन्यो । माझीले लछारपछार पारेर हातले कुटपिट गर्दै विभिन्न हिसाबबाट यातना दिएर पीडितलाई मलमूत्र खुवाएको जानकारी दाहालले दिए । 
त्यस क्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटकपटक आग्रह गरेको प्रहरीको भनाइ छ । तर, माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेकी थिइन् । 
धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालको भनाइ छ । उनीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । अनुसन्धानका लागि अदालतबाट शुक्रबार म्याद थप गरिने डीएसपी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 
घटनामा अरु व्यक्तिहरुको संलग्नता हालसम्म नदेखिएको प्रहरीको भनाइ छ । ‘घटना वान टु वान नै भएको देखिन्छ । अरु पनि व्यक्तिहरु संलग्न छन् कि भनेर थप अनुसन्धान भइरहेको छ,’ डीएसपी दाहालले भने, ‘अनुसन्धानका क्रममा अरुको संलग्नता देखिएमा पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने छ । आरोपीलाई म्याद थप गर्न अदालत लैजाने तयारी हुँदैछ ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!