मर्स्याङ्दीमा खसेको बसका चालकको शव भेटियो

Posted on: 04 Sep, 2023

भदौ १८, काठमाडौँ | लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, बालुवाको पहिरोबाट शनिबार मध्यराति मर्स्याङ्दी नदीमा बस खस्दा बेपत्ता चालकको शव भेटिएको छ ।

मर्स्याङ्दी नदीले बगाएर करिब ४ किलोमिटर तल पुर्‍याएका उनको शव मर्स्याङ्दी गाउँपालिका ८ र ९ को मध्यभागमा पर्ने मर्स्याङ्दी नदीको आँगे भंगालो क्षेत्रमा भेटिएको हो ।


चितवनको भरतपुर महानगरपालिका १३ घर भइ हाल लमजुङको मर्स्याङ्दी गाउँपालिका ७, ङादीस्थित आफन्तकहाँ बस्दै आएका अन्दाजी ४२ वर्षीय खेमबहादुर भुजेल मगर शनिबार मध्यरातदेखि मर्स्याङ्दी नदीमा बेपत्ता थिए । मर्स्याङ्दी नदी दुई धारबाट बगेपछिको खाली ठाउँको सानो खोंचमा सोमबार शव भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार अपराह्न शव देखिए पनि उद्धार गर्न नसक्दा पहिचान हुन सकेको थिए । सोमबार सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट आएको टोलीसहित लमजुङस्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव निकालेको हो । सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी खेमनाथ शर्माका अनुसार तालिमप्राप्त उद्धार टोलीले र्‍याफ्टिङ ढुंगा र डोरीको माध्ययमबाट शव निकालिएको थियो । उनका अनुसार शव सोमबार बिहान साँढे ११ बजे मर्स्याङ्दी नदीबाट निकालिएको हो ।

बेंसीसहरबाट शनिबार यात्रु लिएर गएको ध १ ख ३७२ नम्बरको बस बाटोमा बिग्रिएपछि मर्मत गरेर चालकले राति ङादीतर्फ लैजाँदै गरेका थिए । मर्स्याङ्दी गाउँपालिका ९, गैरीफाँटमा मर्मत गरी ङादीतर्फ जाने क्रममा शनिबार राति साँढे १२ बजेतिर बस नदीमा खसेको अनुमान प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिब १५–२० मिटर तल खसेको थियो । आधाभन्दा बढी भाग नदीमा डुबेको बसको आइतबार एस्काभेटरको प्रयोग गरी बाहिर निकालिएको छ । दुर्घटनाबारे आइतबार बिहान साँढे ७ बजेतिर एक जना जिप चालकले खबर गरेपछि दुर्घटनाबारे जानकारी पाएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि बेंसीसहरस्थित लमजुङ अस्पतालमा राखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!