२२० केभी विद्युत् प्रसारण लाइन निर्माण रोक्न प्रभावितको माग

Posted on: 05 May, 2022

वैशाख २२, लमजुङ | मर्स्याङ्दी कोरिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणकार्य रोक्न प्रभावितले माग गरेका छन् ।आयोजना प्रभावित क्षेत्र दोर्दी–१ र २ का स्थानीयले आयोजनाले बल मिचाइ गरेको आरोप लगाएका हुन् । 

प्रभावितहरूले प्रभावित समुदायलाई प्रहरी प्रशासन परिचालन गरी धाकधम्की दिने, धरपकड गर्ने तथा थुनामा समेत राख्ने गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

सोबाहेक युरोपेली लगानी बैकको उजुरी सुन्ने निकायले दिएको प्रतिवेदनको निष्कर्ष सुझावहरू अक्षरश कार्यान्वयन गर्न पनि माग गरेका छन् । लमजुङको मर्स्याङ्दी कोरिडोरअन्तर्गत राईनासको धमीलीकुवादेखि २२० केभी राष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माणको क्रममा छ । 

प्रभावितहरूले अधिग्रहण गरिएको जग्गामा उचित मुआब्जा लगायतका विषयमा पटक–पटक प्रशासन कार्यालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।

आयोजना सुरु भएसँगै आन्दोलनरत प्रभावित क्षेत्रका बासिन्दाहरूले पछिल्लो समय आफ्ना माग पूरा नहुँदै प्रशासनको बलमा धम्काएर काम अघि बढाएको भन्दै त्यसको विरोध गरेका हुन् । 

बाहेक युरेपेली युनियनले निकालेको निष्कर्ष सुझावको आधारमा प्रभावितको सहभागितामा मुआब्जा पुनः मूल्याङ्कन गरी क्षतिपूर्ति निर्धारण गर्नुपर्ने, प्रभावित समुदाय, युरोपियन लगानी बैक र प्राधिकरणबीच त्रिपक्षीय वार्ता हुनुपर्ने प्रभावितहरूको माग छ ।

प्रभावित समुदायको माग सुनुवाइ नहुँदासम्मका लागि आयोजना निर्माणकार्य रोक्न विशेष माग रहेको एफपिक लमजुङका सचिव चन्द्र मिश्रले बताए । राष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माणको क्रममा गत आइतबार दोर्दी–१, ढोके गाउँकी पवित्रा थापालाई कुटपिट गरिएको, स्थानीय सन्तोष गिरि, सञ्जीव थापा र राजेश थापालाई प्रहरी नियन्त्रणमा लिएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन् । 

यसअघि पनि मर्स्याङ्दी कोरिडोरअन्तर्गत राईनास, दोर्दी, बेसीसहर र मर्स्याङ्दी गाउँपालिकाका प्रभावितहरू पटक पटक आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन् । आफ्ना मागका विषयमा पटक–पटक सम्बन्धित निकायमा आग्रह गरे पनि सम्बोधन नगरेको उनीहरूको गुनासो छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!