झापामा छैटौं राष्ट्रिय भाक्का दिवस मनाइयो

Posted on: 14 Jan, 2024

पुस २९, झापा | झापामा छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाइएको छ । आदिवासी कोच राजवंशी समुदायले पुष २९ गतेलाई भाक्का दिवसका रुपमा मनाउँदै आएका छन् । चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो ।

कोच राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भाक्काको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष पौष २९ गते यस दिवस मनाउन सुरु गरिएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।

भाक्का दिवसले सामाजिक एकताको सन्देश दिएको र समाजमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालीहरुको साझा परिकारको रुपमा चिनाउनुपर्ने राजवंशी समुदायका अग्रज पवन राजवंशीले बताए ।

राष्ट्रिय भक्का दिवसका अवसरमा भद्रपुर, कचनकवल र हल्दीबारी गाउँपालिकाले स्थानियस्तरमा सार्वजनिक बिदा समेत दिएको छ । पूर्वी तराई र विषेश गरि झापा, मोरङ, सुनसरीमा प्रचलित भएपनि अहिले काठमाडौँलगायत देशका विभिन्न स्थानमा पनि भक्काको लोकप्रियता बढ्दै गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!