इलाम- २ मा तोकियो मुख्य निर्वाचन अधिकृत

Posted on: 03 Apr, 2024

चैत २१, इलाम । आगामी वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो । 

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै  अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा  खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ । इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।

निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!