माओवादीबाट इलाम २ मा धिरेन शर्माको नाम सिफारिस

Posted on: 01 Apr, 2024

चैत १९, विराटनगर । इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनका लागि उम्मेदवारको रूपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलाम जिल्ला कमिटीले एक जनाको नाम सिफारिस गरेको छ ।

यस अघि उमेद्वारको रूपमा ४ जनाको नाम सिफारिस भएकोमा पुनः भएको सिफारिसमा धिरेन शर्मा रमणको मात्रै नाम सिफारिस गरेको हो ।

जिल्ला कमिटीले शर्मालाई उम्मेदवार बनाउन प्रदेशमा सिफारिस गरेको छ । माओवादीले गत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम उम्मेदवारको रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।


जिल्लाले पठाएको एकल नाम प्रदेशबाट सोमबार नै केन्द्रमा सिफारिस हुनेछ । वैशाख १५ गते हुने उप निर्वाचनमा माओवादीले अहिलेसम्म उम्मेदवार घोषणा गर्न सकेको छैन । यस्तै कांग्रेसले पनि उम्मेदवारको नाम टुङ्गो लगाउन सकेको छैन ।

कांग्रेसबाट उम्मेदवार बन्न इलाम २ का लागि महासमिति सदस्य भेषराज आचार्य, पूर्व सांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ ।

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा एमालेका तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनेका छन् ।

रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीका तर्फबाट साझा उम्मेदवार डाकेन्द्र सिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ र एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!