दोलखाका एमाले नेताको आत्महत्या प्रकरण: ५ जना पक्राउ, आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

Posted on: 18 Feb, 2024

फागुन ६, काठमाडौँ | नेकपा (एमाले) दोलखाका जिल्ला समिति सदस्य कपिलमणि न्यौपाने मृत्यु प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आरोपीहरूलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको दोलखाका डीएसपी दीपक खड्काले बताए ।

पक्राउ पर्नेमा मेलुङ गाउँपालिका–१ स्थित सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष छत्रराज उप्रेती, सहकारीको सञ्चालक समिति सचिव हरिबहादुर बुढा, व्यवस्थापक महेन्द्र भुजेल, सह–सचिव शिवकुमार कार्की र सहकारीको सञ्चालक समितिका उपाध्यक्ष पुष्पाबहादुर लकाई छन् ।


माघ १५ मा राति कपिलमणि न्यौपानेको घरमा सञ्चालित सूर्योदय सहकारीबाट ३२ लाख ८७ हजार चोरी भएको थियो । सो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरयो । तर, संलग्नता पुष्टि नभएपछि उनीहरूलाई रिहा गरिएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।

चोरी भएको सहकारीको भल्ट र रकम फेला परेको छैन । प्रहरीले पक्राउ गरेर चोरीमा संलग्न नदेखिएपछि कपिलमणिलाई पनि प्रहरीले रिहा गरेको थियो । फागुन २ मा रिहा भएर घर गएका न्यौपानेले शनिवार बिहान ५ बजे आत्महत्या गरे । मेलुङ गाउँपालिका वडा नम्बर–१ पवटी स्थित घर नजिकै आँपको रुखमा झुन्डिएको अवस्थामा न्यौपाने मृत फेला परेका हुन् ।

कपिलमणिले सामाजिक सञ्जालमा लेखेको सुसाइट नोटको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । न्यौपानेले नोटमा आफूलाई आत्महत्या दुरुत्साहन गर्नेहरूको नाम उल्लेख गरेका छन् ।

उनले नोटमा लेखेका छन्– ‘सहकारी चोरीको घटना सञ्चालकले गरेको नाटक हो । यो वर्षौँदेखि बनाएको योजनाअनुसार मलाई फसाउन खोजिएको हो । सञ्चालकले खाएको ऋण र  तिरेको भौचर अनुसार हेर्नु यसमा घोटाला छ । यससँगै मुकुन्द शोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला महेन्द्रको हात छ । मैले लिएको ऋण नरेलाई दिएको छ । मैले कुनै सामाजिक अपराध गरेको छैन, राम्ररी छानबिन गर्नु ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!