दोलखामा निउरो टिप्न गएका बाबुछोरा पहिरोमा पुरिएर बेपत्ता

Posted on: 13 Aug, 2023

साउन २८, दोलखा | दोलखाको उत्तरी बिगु गाउँपालिकामा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता भएका छन्। बिगु गाउँपालिका– ७ का राखम गाउँका अन्दाजी ३५ वर्षीय  निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ शेर्पा पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। 

बिगु गाउँपालिकाका– ७ का अध्यक्ष दलबहादुर श्रेष्ठका अनुसार  आइतबार तिनपाटेन जिकैको जंगलस्थित ठाडो खोलामा निउरो टिप्न गएका बाबुछोरालाई माथिबाट खसेको पहिरोले पुरेको हो।

खोलाकिनारमा निउरो टिप्ने क्रममा एक्कासि माथिबाट खसेको पहिरो र खोलामा एक्कासि आएको बाढीले बगाएको बिगु– ७ का वडाध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

बेपत्ता भएका निम्दोर्जेको थोरै निउरोसहितको कालो झोला पहिरोले सोरिएकै ठाउँमा भेटिएको र त्यसभन्दा केही तल एकथान गम्बुट भेटिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

वडाध्यक्ष श्रेष्ठका अनुसार अघिपछि सुक्खा हुने खोलामा लगातारको वर्षापछि आएको भलले बाबुछोरा बगाएको र नजिकै ठूलो खोला भएकाले सोही खोलामा मिसाएको हुन सक्ने अनुमान गरिएको छ।

निउरो टिप्न गएका तीनजनामध्ये दुईजना बेपत्ता भए पनि अर्का एकजनाले भने भागेर ज्यान जोगाएका छन्। घटना दिउँसो करिब १ बजे घटेको बताइएको छ। घटनास्थलतर्फ चिलंखामा रहेको प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!