उडिरहेको विमानबाट पनि अब मोबाइल फोन चलाउन दिइने

Posted on: 05 Dec, 2022

मङ्सिर १९, काठमाडौँ | एजेन्सी | युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र अब छिट्टै मोबाइल फोन चलाउन पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगको भनाइ छ । 


त्यो व्यवस्था भएमा विमानका यात्रुहरूले आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहनु पर्दैन। युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई विमानका लागि फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउन आगामी वर्षको जुन ३० सम्मको समय दिएको बताइएको छ। यो प्रविधिको विकास भएमा उडिरहेको विमानबाट पनि यात्रुले फोन गर्न सक्नेछन् । 

आन्तरिक बजारका लागि ईयू कमिसनर टिएरी बेर्टोँले यो योजनाले मानिसहरूलाई नवीन सेवाहरू उपलब्ध गराउने र युरोपेली कम्पनीहरू फस्टाउने बताए।

युरोपेली आयोगले निश्चित फ्रिक्वेन्सीहरू विमानहरूका लागि सन् २००८ बाटै आरक्षित गरिसकेको छ । कतिपय विमान सेवाहरूले यसअघिबाटै उडानका क्रममा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन्।

यूकेस्थित उडान सुरक्षा कमिटीका प्रमुख कार्यकारी डाई विटिङ्हम मोबाइलले विमानलाई गर्न सक्ने असरबारे पर्याप्त जानकारीको अभावका कारण मोबाइलमा हुने फ्लाइट मोड ऐतिहासिक रूपमै महत्त्वपूर्ण रहेको बताउँछन्। तर यूके र युरोपेली सङ्घका देशहरूमा यो कुनै समस्या नहुने विटिङ्हम बताउँछन्।

अमेरिकामा यसअघि फाइभ जी फ्रिक्वेन्सीले उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त भएका थिए। यसले विमानको उचाइ मापनमा समेत प्रभाव पर्न सक्ने ठानिएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!