के आयोजक राष्ट्रले विश्वकपबाट पैसा कमाउँछन्?

Posted on: 18 Nov, 2022

मंसिर २, काठमाडौँ | कतारले पहिलो पटक फुटबल विश्वकप आयोजना गर्दैछ । विश्व क्यालेन्डरमा खेलकुदको सबैभन्दा ठूलो मेला हो- फुटबल विश्वकप । विश्वका आधाभन्दा बढी जनसंख्याले २०२२ को विश्वकप हेर्ने अनुमान छ । पाँच विलियन मानिसले फुटबल विश्वकप हेर्ने आँकलन गरिएको छ । १ मिलियनभन्दा बढी मानिसले कतारमा गएर विश्वकप हेर्ने अनुमान गरिएको छ । टिकटदेखि मर्चन्डाइज बिक्री तथा स्पोनसरसिपदेखि पुरस्कार रकम र घुमघाम यी सबै कुरा पैसासँग सम्बन्धित भएर आउँछ ।

Does the World Cup earn the host country?

तर, के आयोजक राष्ट्रले विश्वकप आयोजना गरेर पैसा कमाउँछ त ?

यसको उत्तर एक शब्दमा भन्दा– कमाउँदैन ।

हालसम्म धेरै राष्ट्रहरुले विश्वकप आयोजना गरिसकेका छन् । दशौं विलियन खर्च गरेर आवश्यक पूर्वाधारहरु बनेका छन् । होटलदेखि सुरक्षा, यातयातदेखि हरेक कुरामा विश्वकपलाई लक्षित गरेर खर्च गरिन्छ । तर, यसबाट आयोजक राष्ट्रले प्रत्यक्ष रुपमा आम्दानी गर्दैन । अवश्य पनि विश्वकप एउटा पैसा कमाउने माध्यम हो । टेलिभिजनमा दिने प्रसारण अधिकार वापत पछिल्लो संस्करणको विश्वकपमा ४.६ विलियन डलर आम्दानी भएको थियो । तर, हरेक कमाइ फिफाको हुनेगर्छ ।

टिकट बेचेको पैसा फिफा मातहतका कम्पनीमार्फत शतप्रतिशत फिफालाई जान्छ । हुन त प्रतियोगिताको सबै लागत खर्च फिफाले नै बेहोर्छ । जसका कारण आएको आम्दानी पनि फिफाले नै लिनु स्वभाविक हो । फिफाले १.७ विलियन डलर रकम कतारलाई दिन्छ जसमा हरेक टिमको पुरस्कार रकम पनि सामेल हुन्छ । १२ वर्ष अघि आयोजना अधिकार पाएको कतारले यो विश्वकपको तयारीका लागि कम्तीमा पनि २ सय विलियन डलर खर्च गरेको आँकलन गरिएको छ ।

आयोजक राष्ट्रलाई महिनाभरी चल्ने यो प्रतियोगिताले केही आम्दानीका स्रोतहरु पक्कै खोल्नेछ । जस्तै विदेशी दर्शक आउँदा उनीहरुले होटल, रेष्टुरेन्टमा गरेको खर्च आयोजक देशको राजस्वमा जोडिन्छ । यो आम्दानी निकाल्नुभन्दा बढी सरकारले उक्त पूर्वाधार बनाउन गरेको खर्च निकै बढी छ ।

विश्वकपले कसलाई फाइदा हुन्छ त ?

वर्ल्ड इकोनोमिकको एक रिपोर्टका अनुसार, ‘होटलको आम्दानी बढ्छ । तर, त्यहाँ काम गर्ने कामदारको तलब उही मात्रामा बढ्दैन । यसको मतलब मालिक धनी हुन्छ, कामदार भने उहि स्थानमा रहनेछ ।’

जोसँग पैसा छ उनीहरुले अझ धेरै कमाउने मौका पाउँछन् तर काम गर्ने मजदुरको भने अवस्था उस्तै रहन्छ । अन्य जस्तै, समर्थकले मर्चेन्डाइज, पेय पदार्थ तथा अन्य सेवाहरु फिफा साझेदारसँग खरिद गरेको खण्डमा भने उक्त आम्दानी आयोजक राष्ट्रको आम्दानीमा नपरी फिफाकै अन्तर्गत पर्नेछ । जर्मनीले २००६ मा विश्वकप आयोजना गर्दा २७२ मिलियन कर छुटको माग गरेको थियो । 

छोटकरीमा भन्नुपर्दा विश्वकप फुटबल आयोजक राष्ट्रहरुले पैसाको लागि भन्दा पनि अन्य प्रयोजनका लागि आयोजनाको दाबी गर्ने गर्छन् । विश्वकप आयोजना गर्नु शक्तिराष्ट्रको पहिचान दिनु पनि हो । यसले विश्व समुदायको ध्यान आयोजक राष्ट्रमाथि हुने भएकाले विकसित राष्ट्रहरु आफ्नो शक्ति प्रदर्शन गर्न पनि विश्वकप आयोजना गर्छन् । यदि विश्वकप आयोजना गर्ने राष्ट्रहरुले पूर्वाधार निमार्ण गर्दा सही तरिकाले गरेको खण्डमा त्यस पूर्वाधारले भविष्यमा धेरै आम्दानी गर्ने बाटो पनि खुलाएको हुन्छ । नयाँ बाटो तथा यातयात सुविधाले पछि पनि आर्थिक समृद्धिको बाटो खुल्नेछ ।

पहिलो पटक २०१८ को शीतकालीन ओलम्पिकमा दक्षिण कोरिया र उत्तर कोरियाले एउटै झन्डालिएर प्रतियोगिता खेले । यस प्रकारका खेलकुद प्रतियोगिताले बालबालिकामा समेत खेल भावनालाई प्रेरित गर्ने गर्छ । यसको आर्थिक लाभ आयोजक राष्ट्रले भविष्यमा आर्थिक उन्नतिमा बढोत्तरी गरेर उठाउनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!