रसियाली विमान दुर्घटनाका सबै यात्रुको मृत्यु (अपडेट)

Posted on: 06 Jul, 2021

असार २२, मस्को (रासस–एपी–सिन्ह्वा) | रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ । मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो । त्यसलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क पनि विच्छेद भएको अधिकारीहरुले बताएका छन् ।

विमानमा एक बच्चा सहित २२ जना यात्रुका साथै छ जना चालक दलका सदस्य थिए । 


रसियाको अनुसन्धान समितिले पाइलटको गल्ती, प्रतिकूल मौसम वा प्राविधिक गडबडीका विषयमा केन्द्रित रही अनुसन्धान शुरु गरेको छ । 

दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरु समुद्र, नजिकको पहाड र विमानस्थलको आसपास छरिएको अवस्थामा भेटिएका थिए । 

कामचाट्का नागरिक उड्डयन संस्थाका उपनिर्देशक सर्गेई गोर्बले विमान समुद्रको चट्टानी भागमा ठोक्किएर दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । 

यो रुटमा विगतमा पनि हवाई दुर्घटना हुने गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!