अमेरिकी आकाशमा उडेको ‘रहस्यमयी’ भनिएको विमान दुर्घटना, चारै जनाको मृत्यु

Posted on: 06 Jun, 2023

एजेन्सी । आइतबार दिउँसो अमेरिकी आकाशमा एक अज्ञात जहाज उड्यो। राजधानी वासिङ्टन डिसी नजिकै भएर उक्त जहाज ठूलो आवाज निकाल्दै उडेको थियो। उक्त जहाज भर्जिनियामा दुर्घटना भएको घटना सार्वजनिक भएको छ। विमानमा सवार चारै जनाको मृत्यु भएको ह्वाइट हाउसले पुष्टि गरेको बीबीसीले लेखेको छ। 

अज्ञात जहाजका पाइलटले  उड्डयन प्राधिकरणका अधिकारीहरूसँग कुनै सम्पर्क गरेका थिएनन्। आफ्नो आकाशमा अनुमतिबिनै जहाज उडेपछि त्यसलाई अमेरिकी सेनाका दुई जहाजले पछ्याएका थिए। अमेरिकी लडाकु विमानहरूले पछ्याउँदा विमान अनियन्त्रित भएर भर्जिनियाको शेनान्दोह उपत्यकाको ग्रामीण भागमा दुर्घटना भएको हो।


स्थानीय प्रहरीका अनुसार उद्धारकर्ताहरू दुर्घटनास्थलमा पुग्दा जहाजमा सवार कोही पनि जीवित फेला परेका थिएनन्। उक्त जहाज इन्कोर मोटर्स मेलबर्न कम्पनी रहेको खुलेको छ भने जहाजमा उक्त कम्पनीका सञ्चालक जोन रम्पेलकी छोरी र नातिनी तथा एक कामदार रहेको बताइएको छ। रम्पेलले उनीहरू क्लारलाइनमा बिदा मनाएर न्युयोर्क फर्किन लागेको बेला दुर्घटना भएको बताएका छन्।

उड्डयन प्राधिकरणका कर्मचारीले सम्पर्क गर्न खोज्दा पाइलट किन सम्पर्कमा आएनन् भन्ने खुलेको छैन।


यस बिषयमा तपाइको प्रतिक्रिया...!