अवतरण गर्नुअगाडि नै विमानको ढोका खुलेपछि…

Posted on: 26 May, 2023

जेठ १२, काठमाडौँ | विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । 

देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ । संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाई भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानविन भइरहेको छ । डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ । घटना आज मध्याह्नको हो । विमानको ढोका अवतरण हुनुअघि नै खोलेपछि प्रहरीले एक जनालाई समेत पक्राउ गरेको छ।

एशियाना एयरलाइन्सको फ्लाइट ओजेड ८१२४ दक्षिण कोरियाको देगु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारीमा थियो। तर, विमान अवतरण हुनुअगाडि नै ढोका खुल्यो। विमान कम्पनीका अधिकारी तथा दक्षिण कोरियाली यातायात मन्त्रालयका अनुसार कुनै एक यात्रुले उडिरहेको विमानको आपत्कालीन ढोका खोलिदिएका थिए।

घटनामा कोही पनि घाइते भएन, विज्ञप्तिमा भनिएको छ, केही यात्रुहरूलाई आतंक र सास फेर्न गाह्रो भएकोले अस्पतालमा सारिएको छ। एसियाना एयरलाइन्सका अधिकारीहरूले विमानको ढोका बाहिर निस्कने नजिकै बसेका यात्रुहरूमध्ये एकले ढोकाको ह्यान्डल छोएको हुनसक्ने बताए। विमान अवतरणको तयारीमा रहेका बेला जबरजस्ती ढोका खोल्ने प्रयास गरेको आशंकामा प्रहरीले ३० वर्षका एक पुरुष यात्रुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

यद्यपि विमान सुरक्षित रूपमा अवतरण गर्‍यो। अवतरणपछि करीब ३० वर्षीय ती ढोका खोल्ने व्यक्तिलाई पक्राउ गरियो। उनले कुन उद्देश्यले ढोका खोले भन्नेबारे खुलाइएको छैन। घटनापछि यात्रुहरू आत्तिएका थिए। आधा दर्जन यात्रुलाई श्वासप्रस्वासमा अफ्ठ्यारो भएको थियो। उनीहरूलाई अस्पताल लगिएको बीबीसीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

विमानको ढोका कति समयसम्म खुला रह्यो भन्ने बताइएको छैन। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार भने स्थानीय समय १२:४५ तिर खुलेको थियो। अर्थात् विमान अवतरण हुनै लागेको बेला। विमानमा थुप्रै बालबालिका समेत थिए। ‘बच्चाहरू आत्तिएका  थिए, रोएका थिए,’ एक अभिभावकले भने। एशियाना एयरलाइन्सका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान शुरू गरिसकेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!