फ्रान्समा छोटो दूरीको उडानमा प्रतिबन्ध, यस्तो छ कारण

Posted on: 24 May, 2023

जेठ १०, काठमाडौँ | फ्रान्सले कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले छोटो दूरीको आन्तरिक उडानमा प्रतिबन्ध लगाएको छ ।

दुई वर्षअघि फ्रान्सेली सांसदहरूले यससँग सम्बन्धित प्रस्तावमा मतदान गरेका थिए । रेलबाट दुई–साढे दुई घण्टामा यात्रा पूरा गर्न सकिने ठाउँमा हवाई सेवा बन्द गर्नुपर्ने प्रावधान यो प्रस्तावमा थियो ।

तर, यो प्रतिबन्धले कनेक्टिङ फ्लाइट्समा कुनै असर गर्ने छैन । तर आलोचकहरूले यसलाई ‘प्रतीकात्मक रोक’ मात्र भनिरहेका छन् ।


‘यी उडानमाथि प्रतिबन्धको प्रभाव कार्बन उत्सर्जनमा निकै कम असर पर्नेछ,’ युरोपका लागि एयरलाइन्सका उद्योग समूह प्रमुख लरेन्ट डोन्सियलले एएफपी समाचार एजेन्सीलाई भने ।

सरकारले ‘वास्तविक र अत्यावश्यक समाधान’ मा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

विश्वभरका वायुसेवा कम्पनीहरू कोरोना भाइरसको महामारीबाट प्रभावित भएका छन् । फ्लाइटरडार२४ नामको वेबसाइटका अनुसार सन् २०१९ को तुलनामा अघिल्लो वर्ष उडानको सङ्ख्या ४२ प्रतिशत घटेको छ । 

फ्रान्स सरकारले कडा नियमहरू लागू गर्न लगातार माग गरिएको थियो ।

यसै सन्दर्भमा राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०१९ मा ‘फ्रान्सेली नागरिक सम्मेलन अन क्लाइमेट’ गठन गरेका थिए । सम्बन्धित १५० सदस्यले चार घण्टाभित्र रेलबाट पुग्न सकिने ठाउँमा उडान रोक्न सुझाव दिएका थिए ।

तर केही क्षेत्र र वायुसेवा कम्पनीको आपत्तिपछि यसलाई घटाएर साढे दुई घण्टामा पुर्‍याइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!