उदयपुर-१ र सुनसरी-४ मा मतगणना अन्योल, निर्वाचन आयोगको निर्णय पर्खँदै

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ | मत गणना स्थगित भएको उदयपुर-१ र सुनसरी-४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर-१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी-४ मा अस्ति बेलुका सवा ६ बजेदेखि गणना हुनसकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि निकास निस्कन सकेको छैन ।

उदयपुर-१ मा कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

निवेदनबारे निर्वाचन आयोगमा पत्र पठाइसकेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वदलीय बैठक बसे पनि विवाद टुङ्ग्याउन नसकेकाले आयोगलाई पत्र पठाइएको हो । आयोगले जे निर्णय गर्छ त्यहीँ गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, सुनसरी-४ मा बराहक्षेत्र-८ को मतगणना हुँदै गर्दा मतपेटिकाभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको भन्दै कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आरोप लगाएपछि गणना स्थगित भएको थियो ।

सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले पनि विवादबारे निर्वाचन आयोगमा जानकारी गराएकाले निर्णय पर्खिएर बसेको बताउनु भएको छ । यो क्षेत्रमा कांग्रेसका कार्की र एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैत मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!