पोल भाडा नतिर्ने भायनेट र फर्स्ट लिंकको लाइन काटियो

Posted on: 03 Oct, 2021

असोज १७, उदयपुर | नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै पोल भाडा नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायकको लाइन काट्न थालेको छ । प्राधिकरणले पोल भाडाको पुरानो बक्यौता र बढेको नयाँ भाडादर नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायक दुईवटा कम्पनीको तार काटेको छ ।

प्राधिकरणले पोलको भाडा नतिरेको भन्दै उदयपुरमा भायनेट र फर्स्ट लिंकको तार काटिएको हो । प्राधिकरणले तार काटेसँगै ३३० घर परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । उयदपुरमा पोलको भाडा नर्तिनेहरूको धमाधम तार काट्न थालिएको हो ।

त्रियुगा नगरपालिका १० र १५ वडाको सिमलटार, रानीबास, फोक्सिनटारसम्म जडान गरिएको भायनेट र त्रियुगा नगरपालिका ७ र ८ को नमुना चोक, भाण्टाबारी, चुहाडे र गुण्टे टोलसम्मको तार काटिएको नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका इन्जिनियर सत्यनारायण साहले जानकारी दिए ।

अहिले दुईवटाको मात्र तार काटिएको र अन्य भने भाडा तिर्ने सम्झौतामा धमाधम आउने क्रममा रहेको इन्जिनियर साहले बताए ।

प्राधिकरणले विभिन्न मितिमा सार्वजनिक सूचना निकालेर १५ असोजसम्म केवल र इन्टरनेटवालाहरूलाई पोल भाडा तिर्न निर्देशन दिएको थियो । प्राधिकरणको पटक पटकको निर्देशनको अवज्ञा गर्ने तथा पोल भाडा नबुझाउने केवल टीभी र इन्टरनेटको तार काटिएको उदयपुर वितरण केन्द्रका प्रमुख पंकजकुमार गोइतले बताए ।

'विद्युत् प्राधिकरणको संरचना प्रयोग गरिरहेका केवल टेलिभिजन र इन्टरनेटलाई पुरानो बक्यौता बुझाउन बारम्बार पत्राचार गरेका छौँ’, शाखा प्रमुख गोइतले भने, ‘प्राधिकरणको केन्द्रीय नीतिअनुसार भाडा बुझाउन पत्राचार गर्दा केवल र इन्टरनेटवालाहरूले अहिलेसम्म आलटाल गरेकाले बाध्य भएर तार काटिएको हो ।'

विद्युत् प्राधिकरण गाईघाटका अनुसार केवल टीभी र इन्टरनेट सेवा प्रदायकहरूले पाँच वर्षदेखि भाडा तिर्न नआएको अभिलेख छ ।

जिल्लामा सबैभन्दा ठूलो इन्टरनेटको नेटवर्क रहेको टेकमाइन्ड नेटवर्कले एक पैसा पनि भाडा तिरेको छैन । वडा कार्यालय र विद्यालयलाई इन्टरनेट सेवा दिनका लागि सरकारबाट मोटो रकम लिएको टेकमाइन्डले पोल भाडा बुझाउन प्राधिकरणलाई अटेर गरेको छ । प्राधिकरणले विगत वर्षहरूमा पोलको दरले भाडा उठाउने गरेकामा अहिले दूरीको आधारमा भाडा लिने भनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!