अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो

Posted on: 11 Apr, 2022

 चैत्र २८, लमजुङ | कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएकाे लमजुङकाे  पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् ।दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक केही समययता बढ्दै गएको हो ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीमा उत्साह छाएकाे छ। मंसिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । दुई वर्षसम्म कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको पर्यटन व्यवसायी पारु गुरुङ बताउँछिन् ।

अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढी आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख  गौतमले बताए । बेंसीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगत हुँदै मनाङको बगरछाप पुगेर चामे हुँदै थोराङपास हुँदै मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीको बाटो भएर पोखरा पुगिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!